मकवानपुर । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वकाे अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको बागमतीको मन्त्रिपरिषद् बैठकले ४ भदौमा मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेश भर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० अनुसार गाईजात्रामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाइजात्रा विशेष गरी नेवार समुदायले मनाउने गर्छन् । उक्त ऐन अनुसार सरकारी कामकाजकाे भाषामा नेवारी (नेपाल भाषा) भाषा समावेश गरिएकाे छ ।
ऐनमा गाईजात्रा पर्वमा हरेक वर्ष बिदा दिने व्यवस्था रहेको छ । प्रदेश सरकारकाे उक्त निर्णयसँगै बागमती प्रदेशभर ४ भदौमा परेकाे गाईजात्राको दिन सरकारी कार्यालय सार्वजनिक संस्थान, विद्यालय, निजी संघसंसथाहरु बन्द रहने भएका छन् ।
प्रदेश सरकारको प्रवक्तामा लामिछाने
यसैगरी बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई दिइएकाे छ । शुक्रबारकाे मन्त्रिपरिषद् बैठकले लामिछानेलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
गत १२ साउनमा आन्तरिक मामिला तथा कानून मन्त्री नियुक्त भएका लामिछानेलाई सञ्चार विभाग रहेको मन्त्रालयको जिम्मेवारी सम्हालेकाले प्रवक्ताको जिम्मेवारी तोकिएकाे हो । ला
यसैगरी बैठकले विभिन्न मन्त्रालय अन्तर्गतका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश सरकार मातहतका संगठनहरूमा अस्थायी दरबन्दीमा कार्यरत कर्मचारीलाई तलब भत्ता भुक्तानी गर्न समस्या हुने भएपछि दरबन्दी स्वीकृत गरिएकाे बताइएकाे छ ।

