मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । आगामी भदौ ७ गते एक कार्यक्रमकाबीच बालमैत्री वडा घोषणा गर्न लागिएको वडा अध्यक्ष उद्घब सत्यालले जानकारी दिए ।
वालमैत्री घोषणाको लागि तोकिएको ५१ वटा सूचकहरुमध्ये ४८ वटा सूचक सतप्रतिशत, एउटा सूचक ९८ प्रतिशत, अर्को सूचक ८१ प्रतिशत र अर्को एउटा सूचक ८० प्रतिशतसम्म पूरा भएकोले वालमैत्री वडा घोषणा गर्न लागिएको शुक्रबार पत्रकार सम्मेलनमा वडा अध्यक्ष सत्यालले जानकारी दिए ।
घरधुरी तथ्याङ्क संकलन सर्वेक्षण, २०७९ अनुसार १७ नम्बर वडामा १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या २ हजार एक सय १० जना रहेको छ । जसमा १ हजार १३० बालक र ९८० बालिका रहेका छन् ।
वडामा सामुदायिक र संस्थागत गरी ६ वटा विद्यालयहरु रहेकोमा सबै विद्यालयमा बालमैत्री र अपाङ्गमैत्री संरचना र व्यवहार लागु भइसकेको जनाइएको छ । वडामा २२ वटा बालसमूहरु र एक वडा बाल सञ्जाल रहेकोमा ५५० जना बालवालिकाहरु आवद्ध रहेका छन् ।
वडाध्यक्ष सत्यालले बालबालिकाको क्षेत्रमा वडाले लगानी गरिरहेको बताए । बालबालिकाको बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारको विषयमा सबै सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्ने उनले जानकारी दिए ।
७ भदौमा वडा कार्यालयको प्राङ्गणबाट बिहान १० बजे प्रभातफेरी सहित वडा परिक्रमा पश्चात नेपाल चौर टोल विकासको फुटसल हलमा बालमैत्री वडा घोषणा कार्यक्रम समारोह राखिएको बताइएको छ ।
हेटौंडा उपमहानगरपालिका २०८१ साल भित्र वालमैत्री नगर घोषणाको क्रममा रहेकोले वडा वालमैत्री घोषणा हुँदैछ । ८ नम्बर वडा पहिलो र २ नम्बर वडा दोस्रो वालमैत्री वडा घोषणा भएको छ । १ भदौमा ७ नम्बर वडा घोषणा हुदैछ ।

