मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका वडा–२ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा हुने भएकाे छ । वडा कार्यालयले बिहिबार पत्रकार भेटघाट गर्दै साउन १२ गते शनिबार वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा हुने जनाकारी दिएकाे हाे ।
वडाले बालमैत्री स्थानीय शासन घोषणाका लागि आवश्यक सूचक पुरा गरेपछि घोषण गर्न लागिएकाे पत्रकार भेटघाटमा बताइएकाे छ । बालमैत्री स्थानीय शासनकाे लागि तोकिएकाे आवश्यक ५१ वटा सूचकमध्ये ४५ वटा सूचक सतप्रतिशत, ३ वटा ९६ प्रतिशत १ वटा ९५ प्रतिशत र १ वटा ९० प्रतिशत पूरा भएकाेले घोषणाकाे तयारी गरिएकाे वडा अध्यक्ष विष्णुगोपाल महर्जनले बताए ।
बालमैत्री घोषणा सम्बन्धमा वडा अध्यक्ष महर्जनले वडामा १८ वर्षमुनिका १ हजार ८ सय ११ बालबालिका रहेकाेमा ५२.१३ प्रतिशत् (९ सय ४४) बालक र ४७.८७ प्रतिशत (८सय ६७) बालिका रहेकाे जानकारी दिए ।बालबालिकाको सक्रिय सहभागिताका लागि १९ वटा बालसमूह र १ वटा वडा बालसञ्जाल गठन गरिएकोमा ४ सय ६० बालबालिका आबद्ध रहेका छन् । विभिन्न संरचनागत् समितिमा थप २५ जनासहित कुल ४ सय ८५ बालबालिकाको प्रत्यक्ष सहभागिता रहेका उनले बताए ।
वडामा १ सामुदायिक र २ संस्थागत गरी ३ विद्यालय र २ वटा बालविकास केन्द्र सञ्चालनमा छन् जसले बालबालिकालाई शिक्षाको पहुँचमा ल्याएको छ । विद्यालयहरुमा छात्र र छात्राका लागि अलग शौचालय व्यवस्था, छात्राहरुकाे लागि सेनिटरी प्याड वितरण र बालमैत्री आचारसंहिता लागू गरिएको छ । ३ वटै विद्यालय बालमैत्री स्थानीय शासन युक्त घोषणा भइ सकेकाे छ ।
वडाले बालबालिकाको स्वास्थ्य र पोषण सुधारका लागि पूर्ण स्तनपान प्रवद्र्धन र स्तनपानकक्ष स्थापना गरेको छ । पोषण शिक्षा र ५० सुत्केरी तथा बालबालिकालाई पोषण सामग्री वितरण गरेको अध्यक्ष महर्जनले बताए । बालसंरक्षणका लागि वडाले बालविवाह, बालश्रम र बाल दुव्र्यवहारविरुद्ध सचेतना कार्यक्रमहरु गरेको छ । बालअधिकार समितिको सक्रिय काम भइरहेको र बालश्रममा भेटिएका बालबालिका उद्धार, मनोसामाजिक परामर्श र पारिवारिक पुनस्र्थापना गरिएको अध्यक्ष महर्जनले बताए ।
अध्यक्ष महर्जनका अनुसार विद्यालय र समुदायमा लागुपदार्थ दुर्व्यसन र साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम, बालमैत्री सम्पर्क व्यक्ति नियुक्ति, जन्मदर्ता अभियान र विद्यालय भर्नामा जन्मदर्ता अनिवार्य जस्ता कार्य गरिएका छन् । “बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी हो । शनिबारको घोषणासँगै हामी बालबालिकाको सर्वांगीण विकासका लागि थप प्रतिबद्ध र जवाफदेही हुनेछौं’ उनले भने
‘बालबालिकाको सुन्दर भविष्य निर्माणमा घरपरिवारको साथै यस वडाको ठूलो जिम्मेवारी र दायित्व हुन्छ । भविष्यमा वडा सञ्चालनको महत्वपुर्ण हिस्सा ओगटेको आजको बालबालिकाको क्षेत्रमा वडाले लगानी गर्नु पर्दछ। यसमा परिवारको पनि अहम् भूमिका रहन्छ। बालवालिकाको बाच्न पाउने अधिकार, संरक्षणको अधिकार, बिकासको अधिकार र सहभागिताको अधिकारको बिषयमा सबै सरोकारवाला निकाय जिम्मेवार बन्नै पर्ने हुन्छ । बालबालिकाले अधिकारको मागसंगै उनीहरुले पनि कर्तब्यबोध पनि गर्नुपर्ने हुन्छ ।’ प्रेस विज्ञप्तिमा भनिएकाे छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र विशेषगरी बालबालिकाको उपस्थिति रहने जनाइएको छ । घोषणाकाे अवसरमा वडाको बालमैत्री यात्रा,उपलब्धीहरु र भावी योजनाको प्रतिवेदनकाे प्रस्तुति रहने बताइएको छ । यस अघि हेटौडाकाे ८ नम्बर वडा बालमैत्री स्थानीय शासन युक्त घोषणा भइ सकेकाे छ ।
पत्रकार सम्मेलनमा बालमैत्री सम्पर्क व्यक्ति तथा वडा २ काे सदस्य सुरज बर्ताैला, वडा सचिव रामप्रसाद गुरागाईं,बाल जागृति बाेर्डिङ स्कुलमा प्रिन्सिपल बिनाेद सुवेदी, बालमैत्री नगर सहजकर्ता सपना ढुङ्गानालगायतकाे सहभागीता रहेकाे थियाे ।

