मकवानपुर । बागमती प्रदेश सरकारले भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालालाई बजेट रकमान्तर गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रंगशालाका लागि १ करोड ८० लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय गरेको हो ।
चालु आर्थिक वर्षको लागि उक्त रकम रकमान्तर गरी भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले बताए । प्रदेश सरकार र भरतपुर महानगरपालिकाबिच गत २०८० कात्तिक २१ को सहमति अनुसार क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारको तर्फबाट व्यहोर्ने रकममध्ये १ करोड ८० लाख रुपैयाँ थप गरिएको हो ।
प्रदेश सरकारले यसअघि उक्त रंगशाला निर्माणका लागि ५ करोड रुपैयाँ बजेट निकासा गरिएकाे उनले बताए । थप गरिएको १ करोड ८० लाख रुपैयाँ सोमबार नै महानगरपालिकाले खर्च गर्नेगरी रकमान्तर गरिने उनको भनाई छ । उक्त रंगशाला निर्माणका लागि प्रदेश सरकार र महानगरपालिकाबिच साझेदारी गर्ने सहमति भए अनुसार महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावका आधारमा काम सुरु गरिएको थियो । उक्त कामकाे सम्झौता प्रस्ताव अनुसार ५२ करोड ५० लाख अर्थात ७० प्रतिशत प्रदेश सरकारले व्यहोर्ने र २२ करोड ५० लाख अर्थात ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति भएको थियो ।
यसैगरी बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आर्थिक वर्ष २०७९/०८० को शासकीय सुधार तथा सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गरेको छ । बैठकले प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोद कुमार भट्टराईको थाइल्याण्ड भ्रमण स्वीकृत गरेकाे छ । सचिव भट्टराईकाे असार २९ देखि साउन ४ गतेसम्मकाे अध्ययन तथा तालिममा सहभागी हुन स्वीकृति दिने निर्णय गरेको हो ।

