मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध उच्च अदातल पाटन हेटौँडा इजलासमा रिट दर्ता भएको छ । आइतबार गाउँपालिकाका उपाध्यक्षसहित वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरुले रिट दायर गरेका हुन् ।
गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, ६ नम्बर वडा अध्यक्ष टेक बहादुर डिम्डुङ, ७ नम्बर वडाध्यक्ष उत्तर बहादुर भोलन, ८ नम्बर वडाध्यक्ष इन्द्रमणि तिमल्सिना र ९ नम्बर वडाध्यक्ष पुनराम घलानले संयुक्त रुपमा गाउँपालिकाका अध्यक्ष सर्केश घलान र प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानलाई विपक्षी बनाएर अदालतमा रिट दायर गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष घलानले निर्णय प्रक्रियामा सहभागी नगराएको, संविधान र कानून विपरीत कार्य सञ्चालन गरेकाे, कार्यपालिका सदस्यमाथि गैरकानुनी हस्तक्षेप गरेको र गाउँसभा गैरकानुनी ढङ्गबाट सञ्चालन गरेको, बजेट तर्जुमा समितिलाई जानकारी नै नगराई नीति कार्यक्रमको प्रस्ताव पेश गरेको, पालिका अध्यक्षले अधिकारको दुरुपयोग गरी कार्य सञ्चालन गरेकाेले पूर्णरुपमा गैरकानुनी भएको, संवैधानिक व्यवस्थाकाे उपेक्षा भएको र एकलौटी रुपमा कार्यपालिका सञ्चालन गरेको दायर रिटमा उल्लेख गरिएकाे छ ।
आइतबार दायर भएकाे रिटमा उत्प्रेषरणकाे परमादेश माग गरिएको छ । आइतबार नै रिट दायर भएर असार २४ गते सोमबारका लागि पेशी तोकिएको छ ।
यसअघि गत असार १० गते गाउँपालिकाका उपाध्याक्ष, केही वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले गाउँपालिका अध्यक्षले मनोमानी ढङ्गले बजेट ल्याउन लागेको भन्दै गाउँसभा बहिष्कार गरेका थिए । उपाध्यक्ष अनुपस्थित भएपछि गाउँपालिका अध्यक्ष सर्केश घलान आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मात्र गाउँसभामा प्रस्तुत गरेका थिए ।
गाउँपालिका अध्यक्षले असार १० गते प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे छ । तर आगामी आर्थिक बर्षका लागि गाउँ कार्यपालिकामा बजेट प्रस्तुत हुन सकेको छैन । नगरपालिका तथा गाउँपालिकाले प्रत्येक वर्षकाे असार १० गतेसम्म नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नु पर्ने तथा असार अन्तिममा बजेट सभाबाट पास गर्नु पर्ने कानूनी व्यवस्था छ ।

