दर्कियो पानी चर्कियो छाती सम्झेर असार
रुझेकी होलिन् ती मेरी आमा गरेर हतार
टाढा छ मूल कुलोमा पानी आयो कि आएन
झिकेर भाका चरीले गीत गायो कि गाएन
थिएन इच्छा छोडेर गाउँ विदेश धाउन
साहुको ऋण, पुगेन राम्रो खान र लाउन
विदेशी भएँ यो मन तर पुगेछ गाउँमा
लेख्दै छु चिठी आँसुको मसी आमाको नाउँमा
कोदालो हलो बोकेर जुवा बेँसीमा झरेको
ओढेर घुम छलेर पानी रोपाइँ गरेको
सानीले रोप्थी हिलोले छ्याप्थी म गर्थेँ बाउसे
साथी र भाइ जिस्किन पाए उस्तै थे रउसे
आमाको माया गाउँको याद सम्झायो असारले
फन्दामा परेँ फर्केर जान दिँदैन कतारले
कस्तो भो गाउँ जन्मेको ठाउँ बिर्से कि साथीले
त्यो बुढो बर रोयो कि कतै हिँड्नेको तातीले
(असारे झ्याउरे)
इलाम

