मकवानपुर । नेपालमा गर्भपतनले कानूनी मान्यता पाएकाे २० वर्ष पूरा भएको छ । तर महिलाले यो अधिकारलाई सहजै कार्यान्वयनमा ल्याउन सकेका छैनन् । समाजले गर्भपतनलाई सहजै स्वीकार्न नसक्दा कानूनी मान्यता पाए ता पनि कार्यान्वयनको पाटो कमजोर देखिन्छ । न त महिलाले खुलेर यसबारे बहस नै गर्न सक्छन् ।
स्वास्थ्य सेवामा ३० वर्षदेखि कार्यरत सिनियर अनमि जुना घिसिङ सुरक्षित गर्भपतन सम्बन्धी काम गर्न थालेकाे पनि एक दशक पार गरिसकेकाे बताँउछिन् । हालसम्म कतिजनाकाे सुरक्षित गर्भपतन गरियाे भन्ने हिसाब नै नभएकाे बताउने घिसिङले सेवाग्राहीलाई उचित परामर्शकाे साथै प्रजनन स्वास्थ्य सम्बन्धी कानूनी अधिकारकाे बारेमा समेत बुझाउने गरेकाे बताउँछिन् । गर्भपतनलाई सामान्य रुपमा लिनका लागि सेवाग्राहीहरुलाई सल्लाह दिने गरेको उनले बताइन् । उनी प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदीमा कार्यरत छिन । घिसिङको अनुभवमा १७ बर्षदेखि ४० बर्ष उमेरसम्मका सेवाग्राही आउने गरेका छन् ।
‘भिमफेदी गाउँपालिकाकै किशाेरी भने गर्भपतन सेवाकाे लागि आजसम्म आएकै छैनन्’ उनले भनिन् “हामीले यो सवालमा गोपनीयतालाई बिशेष ध्यान दिने गरेका छौ।’ आफूहरूले सेवाग्राहीकाे गोपनीयता कायम गर्ने गरेको भए पनि अविवाहित युवतीहरुले परिचय खुल्ने डरले असुरक्षित गर्भपतन गराउने तथा अन्य गाउँपालिका वा अन्य स्वास्थ्य संस्थासम्म पुग्ने गरेको उनले बताइन् ।
कुलेखानी स्वास्थ्य चाैकीमा कार्यरत सिनियर अनमि प्रज्ञा रानासँग स्वास्थ्य क्षेत्रमा काम गरेकाे ७ बर्षकाे अनुभव भए पनि गर्भपतन सम्बन्धि मेडिकल अप्रेसनकाे तालिम लिए पश्चात् यसै बर्ष ३ जना महिलाकाे सुरक्षित गर्भपतन गराएकाे बताउँछिन् । ‘सुरक्षित गर्भपतन सेवा लिन आउने महिलाहरु अझ पनि संकाेचपुर्वक लुकिछिपि आउने गरेका छन्’ राना भन्छिन् ‘महिलाहरुमा आफूले पाएकाे प्रजनन स्वास्थ्यकाे अधिकार अन्तर्गतकाे सुरक्षित गर्भपतन गराउन अनकनाउनु पर्ने कुनै कारण नै छैन ।’ तर सुरक्षित गर्भपतनलाई परिवार नियाेजनकाे अर्काे विकल्पकाे रुपमा पनि लिन नहुने उनी बताउँछिन् ।
सामाजिक,धार्मिक दृष्टिकोण, भ्रुण हत्या तथा महिलाकाे स्वास्थ्यसँग जाेडिएकाे संवेदनशिल बिषयकाे रुपमा रहेकाे सुरक्षित गर्भपतन सेवालाई सामान्य बिषयकाे रुपमा स्थापित गराउन स्वास्थ्य सेवा प्रदायककाे मात्र भूमिका हुन्न भन्दै राना भन्छिन् ‘सेवाग्राही मात्र नभै हरेक महिला, किशाेरीहरुमा सचेतनाकाे आवश्यकता रहेकाे छ ।’ क्षेत्र अनुसारकाे जनचेतना, प्रचार प्रसारकाे पनि उत्तिकै आवश्यकता छ, सुरक्षित गर्भपतन सम्बन्धी ज्ञान समतामुललक हुनुपर्ने उनी बताउँछिन् ।
नेपाल सरकारले गर्भपतनलाई कानुनी मान्यता दिए पनि नेपालकाे जनगणना २०७८ अनुसार नेपालमा कुल मातृमृत्युदर मध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुने गरेकाे छ । नेपालमा प्रतिवर्ष ३ लाख २३ हजार महिलाले गर्भपतन गराउँछन्, जसमध्ये ५८ प्रतिशत असुरक्षित तवरले हुन्छ । गर्भपतनका कारण मातृ मृत्यु हुनुको कारण अशिक्षा र सूचना अभाव हो ।
जिल्ला बार एसोशिएसन मकववानपुर अध्यक्ष अप्सरा बस्नेत भन्छिन् “सुरक्षित गर्भपतन सेवा प्राप्त गर्न पाउनु हरेक महिलाकाे अधिकार हाे, तर बच्चाकाे जन्मन पाउनुपर्ने हकलाई समेत ख्याल राख्नुपर्छ ।”
स्वास्थ्यकर्मीले गर्भपतन सेवा प्रदान गर्दै गर्दा परिवार नियाेजनकाे स्थायी अस्थायी साधन प्रयाेग गर्न तर्फ परामर्श दिनुपर्ने बताउदै बस्नेत भन्छिन् “आकष्मिक सेवाकाे रुपमा गर्भपतनलाइ लिनुपर्ने र पटक पटक गर्भपतन गर्भपतन गराउ भने निरुत्साही गर्नुपर्छ ।” गर्भपतनकै कारण महिला स्वास्थ्यमा गम्भीर असर पुग्न उनी बताउँछिन् ।’
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सुरक्षित गर्भपतन सम्बन्धी मूल्य मान्यता र व्यवहार रुपान्तरण अभिमुखिकरण कार्यक्रममा यस्तो जानकारी दिइएको हो । नेपाल स्वास्थ्य व्यवसायी परिषदकी मुख्य प्रशिक्षक दुशाला अधिकारीले “गर्भपतन सेवालाई समाजमा लाल्छानाकाे रुपमा लिइने गरेकाेले सुरक्षित गर्भपतन सम्बन्धी मिथ्या मूल्य मान्यतालाई चिर्ने काममा स्वास्थ्य सेवा प्रदायक संस्था, स्वास्थ्यकर्मी, महिला अधिकारकर्मी, कानुन व्यवसायी, संचारकर्मीलगायत सबेैकाे महत्त्वपूर्ण भूमिका रहेने बताउँछिन् । ‘सुरक्षित गर्भपतन सेवालाई सामान्य रुपमा लिइन्छ तर यो संवेदनशील बिषय हाे’ उनले भनिन् ।
अधिकारीले स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी, सञ्चारकर्मी, सरकारमा नीति निर्माण तहमा काम गर्ने व्यक्तिहरुमा गर्भपतन सम्बन्धी मुल्य र मान्यताहरु र सोचाई एवं व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन पर्ने बताइन् । यस्ता अभिमुखीकरण कार्यक्रमले गर्भपतन सेवा सम्बन्धी काम गर्ने तथा सेवाको उपयोगिताका बारेमा बहस गर्ने वा बोल्ने स्वास्थ्यकर्मी, महिलाअधिकारकर्मी, पत्रकार, वकिल, उपभोक्ता मञ्चका प्रतिनिधिलाई बुझाएर सही सूचना दिई गर्भपतन सेवा प्रति सकारात्मक धारणाको बिकास गर्न र गर्भपतन सेवालाई थप गुणस्तरीय तथा प्रभावकारी बनाउँन मद्दत गर्ने उनले बताइन् ।

जनस्वास्थ्य कार्यालयकी पव्लिक हेल्थ नर्स अधिकृत हरिकला थापाले नेपालमा प्रत्येक वर्ष १० लाख ४८ हजार महिला गर्भवती हुने गरेकाे बताउँदै गर्भवतीमध्ये प्रायःजसोकाे गर्भ अनिच्छित हुने गरेको पाइएको जानकारी दिइन् ।
मकवानपुर जिल्लामा सुरक्षित गर्भपतन गराउन सूचीकृत स्वास्थ्य संस्थाहरु ३३ वटा रहेका छन् जसमध्ये सुरक्षित गर्भपतन सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्था १९ वटा रहेका छन । त्यसैगरि जिल्लाका ३४ जना स्वास्थ्यकर्मिहरुले १० हप्तासम्मकाे अनिच्छित गर्भधारणलाई सुरक्षित गर्भपतन गराउन मेडिकल अप्रेसन तालिम प्राप्त गरेका छन् ।
लिङ्ग पहिचान गरी गर्भपतन गराएमा सो कसूर गर्ने गराउनेलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १८८ बमोजिम बाह्र हप्तासम्मको गर्भ भए एक वर्षसम्म कैद र १० हजार रुपैयाँ सम्म जरिवाना, १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ भए तीन वर्षसम्म कैद र ३० हजार रपैयाँसम्म जरिवाना, २५ हप्ताभन्दा बढीको गर्भ भए पाँचवर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाकाे व्यवस्था गरेकाे छ ।
२०५९ साल असोज १० गते भएको मुलुकी ऐनको ११ औ संशोधनबाट नेपालमा विशेष अवस्थाहरुमा गर्भपतन गर्न कानुनी मान्यता दिएको थियो । २०७५ साल असोज २ गते प्रमाणिकरण भई लागू गरिएको “सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ ले सुरक्षित गर्भपतन सम्बन्धी कानूनी व्यवस्थामा केही संसोधन गरेकाे हाे । उक्त ऐन अनुसार गर्भपतन गर्न महिलाको मजुरीले १२ हप्तासम्मको गर्भ, गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी चिकित्सकको राय भएमा २८ हप्तासम्मको गर्भ, जवर्जस्ती करणी वा हाडानाता करणीबाट गर्भ रहेमा २८ हप्तासम्मको गर्भ, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच आइ भी ) र त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग शरीरमा भएको अवस्थामा २८ हप्तासम्मको गर्भ भुणमा मै खरावी रहेको, भुणमा अशक्तता रहेको भनी उपचारमा संलग्न चिकित्सकको राय भएमा मजुरीमा २८ हप्ताकाे गर्भपतन गराउन मिल्ने ब्यवस्था गरेकाे छ ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले ‘गर्भपतन भन्नाले गर्भमा रहेको भ्रूण स्वाभाविक रूपमा जन्मन सक्ने हुनुभन्दा अगावै गर्भाशयबाट भ्रूण बाहिर निस्कने वा निकाल्ने कार्य सम्झनुपर्छ’ भनेको छ । नचाहँदा नचाहँदै गर्भ रहेपछि कतिपय महिला गर्भपतन गराउन चाहन्छन् । तर गर्भपतनबारे पर्याप्त जानकारी नहुँदा बच्चा जन्माउन बाध्य हुने र असुरक्षित गर्भपतनका कारण मृत्युवरण गरेका घटना प्रशस्तै छन् ।
कार्यक्रममा जनस्वास्थ्य प्रमुख कृष्णवहादुर मिजार, नर्सिङ अफिसर रमा नेपाल, स्वास्थ्य सेवा विभागका डा दिनेश अधिकारी, जिल्ला बार एशाेसियसन मकवानपुर अध्यक्ष अप्सरा बस्नेत, उपभाेक्ता हित संरक्षण मन्जका केन्द्रीय उपाध्यक्ष वासु खतिवडा, विभिन्न गाउपालिकाका स्वास्थ्य्यकर्मिहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।

