मकवानपुर । आज असार १५ गते दहि चिउरा खाने दिन तथा राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाइन्छ भने खेतमा काम गरेपछि दही चिउरा खाएर मनाइने गरिएकाे छ ।
जेष्ठ नागरिकहरु असार १५ गतेका दिन आफू जन्मेका ठाउँको भूमीमा बसेर दही चिउरा खानु पर्छ भन्ने गर्छन् । मानाे रोपेर मुरी फलाउने महिना समेत असार भएकाेले पनि यसो भनिएकाे हाे । दहि चिउराले शरिरमा छिटाे शक्ति प्रदान गर्ने भएकाेले समेत कामको चटारोले थकित भएका किसान दही चिउरा खाने गर्छन् । दही चिउराले शरीरमा शीतलता प्रदान गर्ने र शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।
असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वकै रुपमा लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । कुनैपनि शुभकार्यमा दहिकाे प्रयाेग गरिन्छ । घरबाहिर निस्कदाँ दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । शुभ काममा निस्कनु अघि दहीलाई सगुनकाे रुपमा खुवाएर बिदाइ गर्ने गरिन्छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्धक मानिन्छ । गुरु गोरखनाथले पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेकाे इतिहासमा उल्लेख गरिएकाे पाइन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ ।
आज धान दिवस
२०६२ सालबाट नेपालमा धान दिवस मनाउन थालिएकाे हाे । २९ मंसिर २०६१ काे मन्त्रीस्तरीय निर्णयले २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । अधिकांश नेपालीकाे पेशा कृषि नै रहेकाे छ । कृषि प्रधान देश भएकाले धान दिवसकाे समेत महत्व रहेकाे छ ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । हिल्याइएकाे खेतमा आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै धान रोपिन्छ । धान राेपाईका बेला हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।
वर्षातमै भर पर्नु पर्ने हाम्राे खेतीका कारण पर्याप्त वर्षा नभएका कारण अहिलेसम्म धान रोपाइँ हुनु पर्ने जति हुन सकेको छैन ।

