मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी हेटौंडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा विष्णुमायामा लामा चयन भएकी छिन् । शनिवार भएकाे प्रथम नगर अधिवेशनले लामाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो ।
यसैगरी उपाध्यक्ष तारा ढुंगाना लामा, सचिव सफल अधिकारी, उपसचिवद्वय देवेन्द्र पराजुली र हेम सुवेदी चयन भएका छन् । यस्तै, सदस्यहरुमा भूगोल तर्फबाट ३८, दलितबाट ३, युवा खुलाबाट ५, युवा महिलाबाट २, मुस्लिमबाट २ र खुलाबाट १० जना निर्वाचित भएका छन् ।
एघार जना अग्रज व्यक्ति सम्मानित
प्रथम नगर अधिवेशनमा नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका घननाथ अधिकारी, श्रीबहादुर घलान, इन्द्रसिं थिङ, खिलाकुमारी लामिछाने, कुलप्रसाद रुपाखेती, बद्रीप्रसाद न्यौपाने, सीता बराल, बद्री देवकोटा, कृष्णमाया थिङ, विशुकुमार थापा र सन्तबहादुर राना मगरलाई सम्मानित गरिएकाे छ । नेपाली कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गरिएको हाे ।
पार्टी नगर कमिटी अध्यक्ष देवराज गौतमको अध्यक्षतामा भएको प्रथम नगर अधिवेशनमा स्थायी कमिटी सदस्य एवं पार्टी बागमती प्रदेश कमिटी सहइन्चार्ज ललितकुमार बस्नेत, पोलिटब्युरो सदस्य एवं बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठ, पोलिटब्युरो सदस्य तथा पार्टी कानून विभागका प्रमुख घनप्रसाद गौतम,पार्टी मकवानपुर अध्यक्ष विष्णुप्रसाद दहाल लगायतकाकाे आतिथ्यता थियो ।

