मकवानपुर । बालबालिकाहरुलाई अनलाइन सुरक्षा प्रदान गर्न अभिभावकदेखि विद्यालय, समुदाय र जनप्रतिनिधिहरुले ध्यान दिनुपर्ने बताइएको छ ।
बालबालिकाहरुको मनमा के बितिरहेको छ ? उनीहरु समस्यामा छन् कि ? अनलाइनमा मात्रै रमाउन चाहने र सामाजिक सम्बन्धमा वास्ता नगर्ने बानीमाथि अभिभावकहरुले शंका गर्नुपर्ने हो की ? यसतर्फ ध्यान दिनु जरुरी भएको सिविन बाल हेल्प लाइन सिविन काठमाडौका परियोजना ब्यवस्थापक माधव लोहनीले ध्यानाकर्षण गराएका हुन् ।
सिविन बाल हेल्प लाइन मकवानपुरको आयोजनामा भएको अनलाइन सुरक्षा, पहिचान, रिपोर्टिङ तथा सामुदायिक योजनाहरुको प्रगती समीक्षा कार्यक्रममा सहभागीहरुले बालबालिकाहरुलाई अनलाइनबाट ज्ञान हासिल गर्न रोक्न नहुने तर अनलाइनमा के कस्ता भिडियो, हेरिरहेका छन् भन्नेमा निगरानी राख्नु पर्नेमा मत राखे ।
कार्यक्रममा बाल संरक्षण गृह, अभिभावकहरु, बालक्लबका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु, शिक्षकहरु समेतको उपस्थितीमा अनलाइन बाल सुरक्षाबारे कार्यक्रम गरिएको थियो ।
जथाभावि व्यक्तिलाई अनलाइनमा साथी बनाउँदा बालबालिकामाथि विभिन्न दुरुपयोग हुने संभावना रहन्छन् । बालबालिकालाई अश्लिल फोटो तथा भिडियो सामाजिक संजालमा शेयर गर्ने धम्क्याएर पैसा असुल्ने, मेसेन्जरमा अश्लिल म्यासेज, फोटो पठाउने, धम्क्याउने, डरत्रास देखाउने, पीडितको सामाजिक संजालको पासवर्ड परिवर्तन गरेर वा ह्यक गरेर जथाभावी कुरा वा अश्लिल फोटो पोष्ट गरिदिने जस्ता कारण बालबालिकाहरुमा असर पुर्याउन सक्ने लाेहनीले बताए ।
यसैगरी पीडितको सामाजिक संजालको फेक अकाउण्ट खोलेर जथाभावी कुरा पोष्ट गरिदिने, अफ लाइनमा गरेको यौन हिंसा तथा शोषणका घटनाको फोटो वा भिडियो खिचेर अनलाइनमा ल्याउने धम्की दिने वा अपलोड गरिदिने, पीडितको अनुहारलाई नाङ्गो फोटोसँग जोडी अनलाइनमा ल्याउने धम्की दिने वा अपलोड गरिदिने जस्ता कार्य हुनसक्छन् ।
बालबालिका अनलाइन यौन शोषणमा परेपछि विद्यालय छोड्न बाध्य गरेको छ र उनीहरूको दैनिक जीवन तथा मानसिक स्वास्थ्यमा समेत असर परेको छ सिविन बाल हेल्प लाइन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञावलीले बताए ।
धेरै जसो बालबालिकाहरु रातको समयमा अनलाइन बसेर पीडकको फन्दामा पर्ने गरेको ज्ञावलीले बताए । बालबालिकालाई उचित डिजिटल शिक्षा प्रदान गर्नुपर्ने उनले बताए । बालबालिका भविष्यमा सुसूचित र जिम्मेवार नागरिक बनाउन अभिभावक र विद्यालयले नै बढी ध्यान दिनु पर्ने लोहनीले बताए ।
शिक्षकहरु, अभिभावकलाई यस विषयमा स्थानीय सरकार मार्फत अविभावक तथा शिक्षक र व्यवस्थापन समितिलाई सचेतना अभियान मार्फत जानकार गराउनु पर्ने उनले बताए ।
अनलाइन बालयौन शोषणबाट बालबालिकालाई जोगाउन के गर्नेः
स्थानीय तहले
नागरिक समुदायलाई स्थानीय वडाहरूबाट अनलाइन बाल संरक्षणसम्बन्धी सचेतना मुलक स्टीकर, पर्चा पोष्टरमार्फत जनचेतना फैलाउने ।
सम्बन्धित वडा मार्फत नगरपालिका भित्र रहेका सबै सामुदायिक एवं निजी आवासिय विद्यालयहरूले अनलाइन बालसंरक्षणको विषयमा आ–आफ्नो विद्यालयमा बालबालिकाहरूलाई अभिमुखीकरण गर्नका लागि निर्देश गर्ने ।
आफ्नो वेभसाइटमा अनलाइन बालसंरक्षणको विषयलाई प्राथमिकताका साथ राखेर अनलाइन संरक्षणको विषयलाई सबैको चासोको विषय बनाउने ।
स्थानीय तहले अनलाइन बालसंरक्षणको विषयमा आफ्नो भूगोल भित्र अध्ययन अनुसन्धान गर्ने ।
पालिका स्तरीय अनलाइन बालसंरक्षण नीति बनाएर लागू गर्ने।
अनलाइनबाट पीडित भएका बालवालिकाको लागि कानूनी सहायता तथा संरक्षणका लागि नजिकको प्रहरी वा बाल हेल्पलाइन (१०९८) सँग समन्वय गर्ने ।
शैक्षिक संघ संस्थाहरुले
कम्प्युटर कक्षाहरूमा इन्टरनेट अनलाइनको सुरक्षा विषय समावेश गर्ने ।
विद्यालय बालमा बालसंरक्षण तथा सुरक्षा नीतिमा अनलाइन सुरक्षाको विषय समावेश गरी यो नीतिको पूर्ण पालना गर्ने ।
विद्यालयमा अनलाइन दुव्र्येवहार बारेको सूचना गर्ने सयन्त्रको विकास गर्ने ।
बाल हेल्पलाइन नेपाल १०९८ जस्ता बालसरक्षणका संयन्त्रहरूसँग सहकार्य र समन्वय बढाउने ।
अभिभावक, विद्यालय व्यवस्थापन र शिक्षकहरुबीच अनलाइन सुरक्षाबारे सचेतना फैलाउने वातावरण मिलाउने ।

