मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा मंगलबारबाट प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी सुरु भएको छ । बागमती प्रदेशस्तरीय उक्त गोष्ठी संघीय सरकारको गृह मन्त्रालय र बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको हो ।
बुधबारसम्म संचालन हुने उक्त गोष्ठीको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका हुन् । गोष्ठीमा बागमती प्रदेशका १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको अधिकृत, सशस्त्र प्रहरीको उच्च अधिकृत र नेपाली सेनाका उच्च अधिकृतहरुले सहभागिता जनाएका छन् ।
प्रदेश र संघीय सरकारबीच समन्वय गरेर सुरक्षा चुनौतिलाई विश्लेषण गरी जिल्लामा जनताको लागि सेवा प्रवाह गर्ने कार्यमा समिक्षा गरी सुरक्षाको नयाँ अवधारण तयार गर्ने उद्देश्यले उक्त गोष्ठीको आयोजना गरेको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीेले जानकारी दिए ।
बैठकमा विशेष गरी प्रदेशको शान्ति सुरक्षाकाे अवस्था, विपद् नियन्त्रणका विषयमा छलफल हुने जनाइएको छ । यसैगरी शान्ति सुरक्षा कायम गर्न समाजमा गरिएको नवीन कार्य, सुरक्षा थ्रेडको अवस्थालगायत विषयमा समेत बैठकमा छलफल हुनेछ । बुधबार समापन हुने गोष्ठीमा सहभागी हुन गृहमन्त्री रवि लामिछाने हेटौडा आउने कार्यक्रम रहेको बताइएकाे छ ।
गृह मन्त्रालयका सचिव एकनारायाण अर्यालको सभाध्यक्षमा तथा प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठको विशेष आतिथ्यतामा भएको कार्यक्रममा नेपाली सेनाका रथी अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक बसन्तराज कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख निर्देशक हुतराज थापा, बागमती प्रदेशका कामू प्रमुख सचिव गोविन्दबहादुर कार्कीलगायतको आतिथ्यता रहेको थियो ।

