मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा श्रम क्षेत्र अन्तरगत बालश्रमकाे अनुगमन गरिएकाे छ । श्रम तथा रोजगार कार्यालय हेटौंडाको नेतृत्व, मनहरी गाउँपालिका र सिविन बाल हेल्पलाइन १०९८ को संयुक्त सहकार्यमा बिहीबार मनहरीको ७, ८ र ९ नम्बरमा व्यवसायहरुमा अनुगमन गरिएको हो ।
कार वास सेन्टर, वर्कशप, होटल, किराना तथा फेन्सी स्टोर्सहरुमा अनुगमन गरिएकोमा ७ जना बालश्रमिक काम गरिरहेको अवस्थामा फेला परेकाेले व्यवसाय सञ्चालकलाई स्पष्टीकरण पत्र बुझाइएकाे श्रम तथा रोजगार कार्यालय हेटौंडाका प्रमुख छन्दनारायण श्रेष्ठले बताए । साथै उनीहरुलाई बालश्रम सम्बन्धमा उपस्थित हुन ७ दिनको म्याद दिइएको समेत उनले जानकारी दिए ।
अनुगममा जेके वास सेन्टर मनहरी ९ मा १७ वर्षीय बालक, शाह मोटरसाइकल वर्कशप मनहरी ९ मा १४ वर्षीय बालक, बर्तौला सप्लायर्स मनहरी ७ मनहरी बजारमा १३ वर्षीय बालक, रजैया बाइक वर्कशप मनहरी ८ मा १७ वर्षीय बालक, बर्तौला खाजा घर मनहरीमा १३ वर्षीय बालिका र सरस्वती फेन्सी मनहरी बजारमा १७ वर्षीय बालिका फेला परेका बाल हेल्पलाइन मकवानपुर प्रमुख झबिन्द्र ज्ञवालीले बताए ।
श्रम तथा रोजगार कार्यालय हेटौंडाका प्रमुख छन्दनारायण श्रेष्ठ, नायब सुब्बा भिमप्रसाद शर्मा, मनहरी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शिला अधिकारी, इलाका प्रहरी कार्यालय मनहरीका दिनेश थापा क्षेत्री, बाल हेल्पलाइन मकवानपुर प्रमुख झबिन्द्र ज्ञवाली, कार्यक्रम अधिकृत एवम् मनोविमर्शकर्ता सम्झना अधिकारी, मनहरी गाउँपालिकाका बालअधिकार समिति देवकी ढुङ्गाना, बालमैत्री सहजकर्ता सुशिला नेपाली लगायतको टोलीले अनुगमन गरेको थियाे ।

