मकवानपुर । सामाजिक लोकतन्त्र अध्ययन केन्द्र हेटौँडाले सात जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । केन्द्रले प्रजातन्त्र सेनानी सम्मान २०८१ बाट राजनीतिकज्ञ दीपक मल्ल र अधिवक्ता कृष्णप्रसाद न्यौपानेलाई सम्मान गरेकाे हाे ।
यसैगरी मानव अधिकार सम्मान २०८१ बाट अप्सरा बस्नेत, सामाजिक सम्मान २०८१ बाट अधिवक्ता केशवप्रसाद काफ्ले, साहित्य रत्न वीपि सम्मान २०८१ बाट देवराज खरेल, दीर्घ लेखन सम्मान २०८१ बाट राजबाबु पहाडी र नारी रत्न साहित्य सम्मान २०८१ बाट मञ्जु खराल दाहाललाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा वी.पिको अदालतमा बयान नामक कृति पनि सार्वजनिक गरिएकाे थियाे । साथै दलभित्रको मुल्याङ्कन अभ्यास र नेतृत्वमा दिशाबोध विषयक विचार प्रवाह समेत गरिएको थियो । नेपाली काङ्ग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले विपीकाे विचारकाे सम्मान सदा आवश्यक रहेकाे बताइन् । सामाजिक क्षत्रमा विशेष याेगदान गरेका आधारमा उल्लेखित व्यक्तिहरुलाई केन्द्रले सम्मान गरेकाे अध्यक्ष कृष्णप्रसाद दाहालले बताए।
कार्यक्रममा कृति माथी अधिवक्ता कृष्णप्रसाद भण्डारी र सुवासचन्द्र अधिकारीले सहजीकरण गरेका थिए । संविधान सभा सदस्य प्रह्लाद लामिछाने, नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, युवा नेता आनन्दराम पराजुली, नेकपा एमालेका नेता ईन्द्र नेपाललगायतकाे उपस्थिती रहेकाे केन्द्रकाे सचिव सर्मिला श्रेष्ठले बताइन् । आइतबार केन्द्रको दोस्रो जिल्ला अधिवेसन तथा चौथो साधारण सभा समेत भएकाे थियाे ।

