मकवानपुर । स्थानीय स्तरमा हुने विपदबाट जोगाउनका बागमती प्रदेशका मन्त्री, सांसद तथा स्थानीय तहका पदाधिकारीसँग आग्रह गरिएकाे छ । मकवानपुरगढी गाउँपालिका ६ भालुखोलामा भएकाे सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयवासीले आगलागी, चट्याङ्, बाढी, पहिरो जस्ता विपदबाट जोगाउन आग्रह गरेका हुन् ।
जनपत्र मिडिया प्रालि हेटौंडाले संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा स्थानीय स्तरमा हुने गरेको आगलागी, चट्याङ्, बाढी, पहिरो जस्ता विपद्का विषयमा गरेकाे सार्वजनिक सुनुवाइ कार्यक्रममा मकवानपुरगढीमा शिवम सिमेन्ट र हेटौंडा सिमेन्ट उद्योगको खानीमा जथाभावी उत्खनन् गरेका कारण बाढी पहिरोका घटना बढ्दै गएको स्थानीयले गुनासाे गरेका छन् । बिशेषगरी मकवानपुरगढीको बुङदल, सोलिथुमको चुहार लगायतका क्षेत्रमा चट्याङका कारण जनधनकाे क्षती हुने गरेकाे समेत सहभागिहरुले गुनासो राखेका थिए ।
कार्यक्रममा प्रदेशका अर्थमन्त्री जगन्नाथ थपलीयाले आगालागी, वन डढेलो जस्ता प्राकृतिक सवालमा व्यवस्थापन नै चुनौती रहेकाे बताए । ‘वन जोगाउन हिजो जनतामा जुनप्रकारको चासो देखिन्थ्यो आज त्यो छैन’ उनले भने ‘बेवास्ता बढेकोले चुनौति बढेको हो । निययन्त्रणको लागि अब सचेतना बढाउनुको अर्को विकल्प छैन ।’ पर्या–पर्यटनालाई जोगाउनु पर्ने बताउँदै उनले यसमा जनताको चासो र चिन्ता चाहिने बताए । पहिरो नियन्त्रण भने संभव हुने बताउँदै यस्ता सवालहरुमा विज्ञसँग छलफल गरेर आगामी बजेटबाट सम्बोधन गर्न प्रदेश सरकार तयार रहेकाे भनाई व्यक्त गरे।
यसैगरी वन मन्त्री केशवप्रसाद पोखरेलले बजेट र योजना बनाउने बेलामा जनताको गुनासा सुन्न पाउनु भनेको योजनालाई समेट्न सजिलो हुने बताए । उचित समयमा उचित कार्यक्रम भएको बताउँदै उनले भने ‘जनताको जिउ धनको सुरक्षा जनप्रतिनिधिहरुको कर्तव्य हाे ।’ ‘अब बन्ने योजनामा जनगुनासाहरुलाई समेट्न कोशिस गरिने छ’ उनले भने । उनले आगालागी नियन्त्रणको पूर्वतयारी आवश्यक भएको आभाष हामीले पनि गरेका बताए । ‘प्रदेशको कुल भुभागको ५३ प्रतिशत जनिम वनले ढाकेकोले वनलाई आर्यआर्जनसँग जोड्नु पर्छ’ मन्त्री पाेखरेलले भने ‘प्रदेश सरकारले यसअघि (चैत्र २० गते) नै स्वदेशी काठमात्रै प्रयोग गर्ने निर्णय गरिसकेको छ ।’ वनमा डढेलो लाग्नै नदिन र वनलाई जनजीविकासँग जाेड्न प्रदेश सरकारलाई दबाब पुगेको उनले बताए। ‘स्थानीय समूह, स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वयमा यस्ता विपद् रोक्नको लागि सहकार्य गर्नुपर्छ’ उनले भने ।
यस्तै प्रदेश सभा सदस्य भारती पाठकले वन डढेलोले मानवीय क्षतिको समेत जोखिम बढेको बताइन् । वन डढेको आवश्यक पनि छ तर अहिले व्यवस्थापनको कमजोरी र सिपको अभावनको कारण वन डढेलो विपद् बन्न पुगेको उनले बताइन्। ‘वनमा डढेलो लाग्न नदिन सचेत हुनु भन्दा लापरवाही बढी हुन थालेको छ’ उनले भनिन् ‘यसको बारेमा बहस हैन पूर्व तयारी आवश्यक छ ।’ वनको काठ, जडिबुढी नष्ट भएको छ, वन जोगाउन जनचेतना सिप पनि चाहिएको उनले बताइन् । अग्नी नियन्त्रणमा लाग्नेहरुको सुरक्षा प्रदेश सरकारले के गरेर गर्न सकिन्छ समितिमा सल्लाह गर्ने उनकाे भनाई थियाे ।

प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठले सबैले आ आफ्नो स्थानबाट विपदबाट बच्न सचेत हुनु पर्ने तथा उचित ध्यान दिनु पर्ने बताइन् । उनलेअहिले बागमती प्रदेश र मकवानपुर जिल्लामा समेत विपद्का घटना धेरै भएकाले यसको नियन्त्रण सहित पूर्व तयारीमा लाग्न सरकारले ध्यान दिनुपर्ने उनले बताइन् ।
स्थानीय रामचन्द्र हुमगाईले आगालागी भएमा निभाउन दमकल नै जान नसक्ने स्थान रहेकाे पालिका भएकाेले आगो लाग्दा निभाउनको लागि तालिमप्राप्त टिम तयारी अवस्थामा राख्न पर्ने बताए । यसैगरी नारायणप्रसाद बञ्जराले वन्यजन्तुले बाली नाश गरेर किसानलाई हैरान पारेकाेले वनक्षेत्रमा तारजाली गरी सुरक्षित बनाउनु पर्ने बताए । यस्तै गोविन्द दुलालले विपद्का कारण वर्षेनी २ देखि ४ जनासम्मको मृत्यु हुने गरेको बताउँदै स्थानीय सरकार के हेरेर बसेको छ ? भन्दै विपद्का विषयमा सरकारले योजना बनाउन समेत नसकेकाेमा प्रश्न उठाए ।
पत्करबाट मल बनाउने पाइलट कार्यक्रम सुरु गरिएको डिभिजन वन कार्यालयले जानकारी दिएकाे छ । यसले डढेलो नियन्त्रणसँगै किसानको आयलाई जोड्न सकिने कार्यालयकाे भनाई छ । यसैगरी रिचार्ज पोखरीहरु निर्माण थालिएको समेत बताइएकाे छ । रेड्क्रम उपशाखा सभापती नानीराम तिमल्सेनाले वन जोगाउन र डढेलो रोक्न अग्नी नियन्त्रण रेखा बनाउन सकिने बताए । तालिमप्राप्त जनशक्तिको अभाव तथा सबै उपभोक्तालाई अग्नी नियन्त्रणबारे आधारभूत तालिम आवश्यक रहेकाे उनले बताए । मकवानपुरगढी गाउँपालिका चट्याङको उच्च जोखिममा रहेको छ तर यसको प्रभाव कम गर्ने योजनाबारे जानकारी नभएकाे भन्दै उनले विपद व्यवस्थापनको लागि दक्ष जनशक्ति आवश्यक रहेकाे बताए। विपद परिहालेमा उद्वार गरी उपचारमा लैजान हेलिप्याडको समेत खाँचो रहेकाे औल्याए ।
यसैगरी अर्जुन न्यौपानेले खोलमा तटबन्धन हुनुपर्नेमा तार जाली लगाएर झारा टार्ने काम मात्रै भएकाे बताए । सिमेन्ट खानीको ओभर बटमको कारण बाढीपहिरोमो त्रास अति छ, यसलाई सरकारले कसरी हेरीरहेको छ ? चरण क्षेत्रको अतिक्रमणले समेत पनि बाढी पहिरोको क्षति बढाएको उनकाे भनाई थियाे । वन डढेलोको कारण पानीको पाइपहरु डढेर तत्काल नै समस्या देखिएको र पिउने पानीको मुहान सुक्दै गएको नमुना सामुदायिक वनका अध्यक्ष बलराम अधिकारीले बताए ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरु विन्दु श्रेष्ठ, सकुन्तला श्रेष्ठ, बालकुमारी विश्वकर्मा, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान, निबर्तमान अध्यक्ष विदुर हुमागाई, वडा नम्बर–६ का अध्यक्ष कृष्ण बजगाईलयायतले विपदबाट हुने जोखिम नियन्त्रणकालागि सबै एक भएर लाग्नुपर्ने भनाई राखेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रम जनपत्र मिडिया प्रालिका अध्यक्ष हरि हुमागाईको अध्यक्षतामा भएको हाे ।
