मकवानपुर । भीम विराग सङगीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले शनिबार ९ जना स्रष्ट्रालाई सम्मानित गरेको छ । प्रतिष्ठानले कला साधक भीम विराग सक्रिय रहेका क्षेत्रहरु साहित्य, सङ्गित, कला र पत्रकारिता चारवटा क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा ४ वटा पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।
भीम विराग राष्ट्रिय साहित्य पुरस्कार, २०८० कुन्ता शर्मा (सुनसरी), भीम विराग राष्ट्रिय सङ्गित पुरस्कार, २०८० लाल श्रेष्ठ (मकवानपुर), भीम विराग राष्ट्रिय कला पुरस्कार, २०८० बी.एस. राना (मकवानपुर) र भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार, २०८० जयदेव भट्टराई (ललितपुर) लाई प्रदान गरिएको हो । उक्त ४ वटै पुरस्कारको राशी जनही २५ हजार रुपैयाँ रहेको महासचिव छवि अनित्यले बताए ।
प्रतिष्ठानले विगत वर्षहरूदेखि नै भाषा, कला, सङ्गित तथा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई निरन्तर समर्पण गर्दै आइरहेका अन्य पुरस्कार ५ पुरस्कार समेत शनिबार नै प्रदान गरिएको छ । प्रतिष्ठानले तुलसीमाया शिवकुमारी सृजनशील नारी पुरस्कार, २०८० मञ्जु खराल, (मकवानपुर) लाई प्रदान गरेको छ । मुक्तिगोविन्द वैद्यले स्थापना गरेको उक्त पुरस्कारको राशी १५ हजार रुपैया रहेको छ ।
यस्तै शिला नारी पुरस्कार, २०८० निरु मगर (मकवानपुर) लाई प्रदान गरिएको छ । पुरस्कारको राशी १५ हजार रहेको उक्त पुरस्कारका संस्थापक आशीष श्रेष्ठ हुन् । रामकृष्ण बानियाँ स्मृति लोक सङ्गित पुरस्कार, २०८० गितकार पम्फा थापा मगर (मकवानपुर) लाई प्रदान गरिएको छ । संस्थापक चुन बानियाँ रहेको उक्त पुरस्कार राशी २० हजार रहेको छ ।

यसैगरी १० हजार राशी रहेको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार, २०८० सिमा मिश्र (मकवानपुर) लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको संस्थापक देवप्रसाद श्रेष्ठ र दीपकप्रसाद श्रेष्ठ हुन् । यस्तै १० हजार राशी रहेको अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार, २०८० अन्जु धिताल (बारा) लाई प्रादन गरिएको छ । दृष्टि विहिन धिताले अध्यापन क्षेत्रमा सक्रिय छिन् । उक्त पुरस्कारका संस्थापक रोशन सेन गुप्ता हुन् ।
वरिष्ठ कलासाधक भीम विरागको सम्मानमा २०५९ साल भाद्र ७ गते स्थापना भएको भीम विराग सङ्गित साहित्य कला प्रतिष्ठान नेपाल नेपाली सङ्गित, साहित्य र कला क्षेत्रमा क्रियाशील संस्था रहेको महासचिव अनित्य बताए । देश तथा विदेशमा रही नेपाली वाङ्मयको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका सर्जक, स्रष्टाहरूलाई सम्मानित एवम् पुरस्कृत गर्दै उनले बताए ।
संस्थाले मकवानपुरबाट वार्षिक रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान समर्पण गर्दै आइरहेको उनले जानकारी दिए ।
अन्य दुई पुरस्कारहरु भीम–मथुरा बाल प्रतिभा पुरस्कार २०८० र चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार, २०८० भने प्राविधिक कारणबस प्रदान हुन नसकेको प्रतिष्ठान अध्यक्ष केशवलाल श्रेष्ठले बताए ।

