मकवानपुर । हेटौंडा–१९, बस्तीपुरकी गौरी सिन्तानले घर बनाउने काम गर्न थालेको करिब १४ वर्ष भइसक्यो । पछिल्लो एक दशकयता उनी हेड मिस्त्री छिन् । हेड मिस्त्रीको यो लामो यात्रामा सुरुवातदेखि नै उनले एउटै कुरा सुनिरहेकी छन्, ‘अहो ! महिला भएर पनि हेड मिस्त्री ।’ भौतिक संरचना निर्माणको काममा पुरुष मात्र प्राविधिक र हेड मिस्त्री हुन्छन् अनि महिला जति सामान्य काम गर्ने ज्यालादारी हुन्छन् भन्ने बुझाइलाई चिर्दै गौरीले आफूलाई अब्बल दर्जाको निर्माणकर्मीका रूपमा उभ्याएकी छन् ।
सुरुका झन्डै चार वर्ष गौरी पनि अरू महिला जस्तै निर्माण क्षेत्रमा दैनिक ज्यालामा मजदुरी गर्थिन् । काम गर्दै जाँदा उनले प्राविधिक सीप पनि सिक्दै गइन् । ‘लेबरको काम गर्दै गर्दा अरू मिस्त्रीले कसरी काम गर्छन् भनेर हेर्दै गर्दा मैले पनि सक्छु भन्ने लाग्यो,’ उनले सुनाइन्, ‘यसरी बिस्तारै पुरुष मिस्त्रीहरूसँग काम सिकें ।’ कक्षा ५ सम्म मात्रै पढेकी गौरीलाई अहिले गारो लाउन होस् वा प्लास्टर गर्न सबै काम सहज लाग्छ ।
गौरीले काम सिक्दै गर्दा पति नवराज रोजगारीका क्रममा मलेसियामा थिए । नवराज मलेसियाबाट फर्किंदा पत्नी गौरी हेड मिस्त्रीका रूपमा काम गरेको देखेर दंग परे । नवराजले सुनाए, ‘म विदेशबाट फर्केर आउँदा गौरी मिस्त्री भैसकेकी रहिछे । सुरुमा त पत्यार लागेको थिएन । पछि आफैंले देखेपछि रमाइलो लाग्यो ।’ हिजोआज गौरी दम्पती काममा सँगै हुन्छन् । नवराजले सुनाए, ‘महिनामा २७ देखि २८ दिन सँगै काममा हुन्छौं ।’
गौरी र नवराजले निर्माण क्षेत्रमा काम गरेर मासिक करिब ५० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । ठेक्काको काम नभएका बेला भने उनीहरू दैनिक हाजिरामा पनि काम गर्छन् । यस्तो काम गर्दा भने खाजा खाएर दैनिक जनही १ हजारदेखि १२ सय रुपैयाँसम्म ज्याला हात पर्ने उनीहरू बताउँछन् ।
उनीहरूले केही समयअघि हेटौंडा–१९, बस्तीपुरमा आफ्नै पक्की घर बनाएका छन् । मनहरी गाउँपालिका–१, गोगनपानीबाट कामका सिलसिलामा बस्तीपुर सरेर १० वर्ष डेरामा बसेका गौरी दम्पती आफ्नै कमाइको भरमा घरजग्गा जोड्न सफल भएका हुन् । निर्माणको काम गरेरै उनीहरूले एक छोरा र दुई छोरीलाई पढाइरहेका छन् । केही साताअघि मात्रै उनले हेटौंडा–१९, सान्नटारमा घर ठेक्कामा लिएर निर्माण सम्पन्न गरिन् ।
निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलका अनुसार जिल्लाभर भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा महिला हेड मिस्त्रीको संख्या असाध्यै कम छ । कान्तिपुरबाट

