उनी धाराप्रवाह बोल्दै थिए , “गगनचुम्बी महल छेउ पुग्दा यहाँहरुकै पसिना र मेहनतको गन्ध आइरहे जस्तो लाग्छ । होटेल कलकारखाना उद्योग निर्माण र संचालनका संवाहक यहाँहरु नै हुनुहुन्छ । यहाँहरुको इमानदारीता धैर्यता अथक प्रयासको जति बयान गरेपनि कमै हुन्छ । यहाँहरुलाई गाँस बास कपास शिक्षा स्वास्थ्य रोजगारीको व्यबस्था गर्न मेरो व्यक्तिगत तर्फबाट सक्दो प्रयास गर्नेछु । सम्बन्धित ठाउँमा आवाज उठाउँनेछु । म आफ्नो गाँस काटेर भएपनि तपाईं र तपाईंका परिवार भोको रहन दिन्न।” तालीको गडगडाहटले सभाहल गुन्जायमान भयो ।
बाहिर रुखो स्वभाव देखाए पनि मनमा हरिको बास भएका र’छन् , मनमनै ऊ दङ्ग भयो। त्यो उत्साह पलभरमै गायव भयो जब वक्ता र उसका चार आँखा एकाकार भए ।
डराउँदै घर फर्कियो । ऊ भन्दा स्वास्नी ज्वरोले झन् थल्लिएकि थिई । परिवार सबै ओछ्यान परेपछि उसलाई निको हुन कर लागेको थियो । भान्सामा पस्यो पकाउँनलाई चामलको मुठ्ठी रहेनछ । हिजो बिहानको कोदोको खोलेले छोडिसकेको थियो । उता सानी छोरी भोक लाग्यो भनेर रुँदै थिई । अघिनै ख्याल गरेको भए ‘औषधीको सट्टा अलिकति चामल किनेर ल्याउँथे मनमनै पछुतायो ।’
केही उपाय नलागेपछि ऊ साहूको घरतिर लाग्यो । एक हप्तादेखि काममा नआएको भनेर साहुनीले बेस्सरी झपारिन् । अवस्था बेलिबिस्तार लगाएपछि एक कटौरो सरौलो झुम्रामा पोको पारिदिइन्।
बिदा हुनै लाग्दा साहू पनि कार्यक्रमस्थल बाट टुप्लुक्क आइपुगे । ऊ काममा नआएकोले भट्टामा ईटा पोल्न नपाएर उनी रिसाएका थिए । मजदुर दिवस मनाउँन गएको ….?भन्दै एक थप्पड मारे । मेडिकलमा गएको थिएँ । मालिकको भाषण छ भन्ने सुनेर मात्र एकैछिन कार्यक्रमस्थल पसेको सुनायो । ‘अझै बाठो हुन्छ्स्? गाईलाई दिन छोडेर किन दिएको त्यो सरौलो यो बैगुनीलाई ?´ मालिक कड्किए ।
जुन दिवस आएपनि “कागलाई बेल पाक्यो हर्ष न बिस्मात् !´´ अमिलो मन लिएर ऊ घर फर्कियो । बाटोभरि गुन्दै हिड्यो, ‘साहूको छोराले फालेको खिर मागेको भए पनि त छोरी अघाउँथी ।´
सभापोखरी – १,संखुवासभा ।

