मकवानपुर । मकवानपुरकाे हेटौंडामा विद्यालयस्तरीय एकल गायन प्रतियोगिता हुने भएको छ । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा चैत १५ गते शनिबार एकल गायन प्रतियोगिता हुने भएको हो ।
वृहत् साहित्यक साँस्कृतिक कार्यक्रमसहित हुने गायन प्रतियोगितामा जिल्ला भरीका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने आँचल कला पुञ्ज अध्यक्ष भावना सापकाेटा जानकारी दिइन् । प्रतियागितामा सहभागी भएका प्रतियोगीहरुले नेपालीपन झल्किने तथा सन्देशमूलक स्वदेशगाना तथा आधुनिक गीत गाउनु पर्ने उनले बताइन् । प्रतियोगितामा एउटा विद्यालयबाट २ जना विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन् । सहभागी हुनका लागि प्रतियोगीहरुले बिहीबारसम्म नाम दर्ता गराइसक्नुपर्ने बताइएकाे छ ।
प्रतियोगितामा गायन सँगसँगै स्रष्टा सम्मान, बहस र रचना वाचन कार्यक्रम पनि हुने जनाइएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ८ हजार, ६ हजार, ४ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

