मकवानपुर । सडक निर्माण तथा मर्मतकाे काम जारी रहेकाेले मकवानपुरकाे हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक आजबाट बन्द हुने भएको छ ।
मकवानपुर हुँदै काठमाडौँ जोड्ने कुलेखानी–फाखेल–फर्पिङ सडकको फर्पिङ–टल्कु–हुमाने सडक खण्ड अन्तर्गत लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको भागमा कालोपत्रेको क्रममा कुलेखानी–फाखेल–फर्पिङ सडक बन्द भएको हो । 
दक्षिणकाली नगरपालिकाले कुलेखानी–फाखेल–फर्पिङ सडकको लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको तीन किलोमिटर सडक कालोपत्रे गर्ने कार्य आजबाट सुरु गर्न लागेको जनाएको छ ।
दक्षिणकाली नगरपालिकाकाे लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको सडक कालोपत्रेको क्रममा अर्को सूचना नभएसम्मका लागि उक्त सडक बन्द गरिएको प्रहरीले जनाएकाे छ । अर्को सूचना जारी नभएसम्मको लागि उक्त सडक भएर गुड्ने सवारी साधनहरू वैकल्पिक सडक प्रयोग गर्नुहुन आग्रह गरिएकाे छ ।
उक्त सडक खण्डको हुमाने भन्ज्याङदेखि लामा गाउँ पीपलबोटसम्म यसअघि कालोपत्रे गर्ने कार्य सम्पन्न भएकोमा दोस्रो चरणको लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको सडक कालोपत्रे गर्न लागिएको हो ।
