चितवन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाले ४३ जना पत्रकारलाई शनिबार सम्मानित गरेकाे छ । २०५६ सालभन्दा अगाडि नेपाल पत्रकार महासंघकाे सदस्यता लिएर क्रियाशील एवं पूर्वअध्यक्ष गरी ३४ जना पत्रकारलाई सम्मानित गरेकाे हाे भने विभिन्न विधामा ९ जना पत्रकारलाई पुरस्कृत गरेकाे हो ।
पत्रकार महासङ्घमा आबद्ध भएर पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ३४ जना पत्रकारलाई सम्मानित गरिएकाे पत्रकार महासङ्घ चितवन सचिव दीपेन्द्र अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार क्रियाशील पत्रकारलाई हौसला प्रदान गर्न १० हजारदेखि ५१ हजार रुपैयासम्मको पत्रकारिता पुरस्कारबाट ९ जना पत्रकारलाई पुरस्कृत गरिएको छ ।
शनिबार भरतपुरमा आयोजना गरिएको कार्यक्रमा भरतपुर महानरपालिका प्रमुख रेनु दाहाल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेललगायतले उनीहरुलाई सम्मानित गरेका हुन् । महासङ्घले स्थापना गरेको ५१ हजार १११ रुपैयाँको मैयादेवी पत्रकारिता पुरस्कार–२०८० बाट सृजना अर्याल, ५० हजार ५१ रुपैयाँको अनन्त गङ्गा पत्रकारिता पुरस्कार–२०८० बाट चाँदनी हमाल पुरस्कृत भएका छन् । त्यस्तै, ११ हजार ३११ रुपैयाँको तिलचन साँखी पत्रकारिता पुरस्कारबाट ३ जना पत्रकारलाई पुरस्कृत गरिएको छ । यो पुरस्कार शालिग्राम नेपाल, विमल खतिवडा र टीकादत्त तिमिल्सिनालाई प्रदान गरिएको अधिकारीले बताए ।
त्यसैगरी, औद्योगिक पत्रकारिता पुरस्कारबाट २ जना पत्रकार पुरस्कृत भएका छन् । ११ हजार १११ रुपैयाँको यस पुरस्कारबाट सन्तकुमार चौधरी र हीरालाल गुरुङ पुरस्कृत भएका उनले जानकारी दिए । त्यस्तै ११ हजार १११ रुपैयाँ राशिको बालकुमारी विष्णुकुमारी अभ्युदय पत्रकारिता पुरस्कारबाट केशु लामिछाने र १० हजार १११ रुपैयाँ राशिको श्रुजश्री मैयादेवी पत्रकारिता पुरस्कारबाट प्रतिमा कुमाल सम्मानित भएका छन् ।
सम्मान एवम् पुरस्कार वितरण कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अग्रज पत्रकारहरुले पु¥याएको योगदानको स्मरण गर्दै उनीहरुलाई सम्मान गर्नु ऐतिहासिक काम भएको बताइन् । दाहालले पत्रकारहरुलाई सत्य र तथ्यमा आधारित खोजमूलक पत्रकारिता गर्न आग्रह गर्दै पत्रकारहरुले गलत हुन नदिन खबरदारी गर्नुपर्ने धारणा राखिन् । पत्रकारहरुबाट महानगरपालिकाका काम कारबाहीप्रति सचेत बनाउने र खबरदारी गर्ने काम भइरहेको भन्दै उनले आफू सधैँ स्वतन्त्र प्रेसको पक्षमा रहेको बताइन् ।
भरतपुर महानगरपालिकाले पत्रकार तथा सम्बद्ध सङ्घसंस्थालाई विभिन्न पक्षबाट सहयोग गर्दै आइरहेको भन्दै पत्रकार सक्षम भएमा देश समृद्ध हुने उनले बताइन् । पछिल्लो समय समाज नकारात्मकतातर्फ उन्मुख भइरहेको भन्दै दाहालले समाजमा केही हुन सकेन भन्ने भाष्य स्थापित गर्न खोजिएको बताइन् । समाजमा भ्रम छर्नेहरुको विरुद्धमा पत्रकारहरुले यथार्थ विषयवस्तु बाहिर ल्याउन मद्दत गर्नुपर्ने दाहालको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारिता क्षेत्रको विश्वनियता वृद्धि गर्न पत्रकारहरुनै लाग्नुपर्ने बताए । प्रेस स्वतन्त्रता हननका घटनाहरुमा कमी नआएको भन्दै यसतर्फ राज्य र सम्बद्ध सबै पक्ष सजक हुनुपर्नेमा पोखरेलले ध्यानाकर्षण गराए । नेपालमा विभिन्न समयमा भएका घटनाहरु अध्ययन गर्दा अझै पनि पत्रकारिता क्षेत्रमा खतरा देखिएको पोखरेलको भनाइ छ ।
कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासङ्घ चितवनका पूर्वअध्यक्ष जनक अर्याल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्र चितवनका सचिव द्रोणबाबु सिवाकोटी, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति कृष्ण भुसाल, नेकपा (एकीकृत समाजवादी) पार्टी चितवनका अध्यक्ष कृष्णराज न्यौपाने, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुवाष पण्डित, प्रेस सेन्टर चितवनका अध्यक्ष सूर्यप्रसाद पाठक, समाजवादी प्रेस सङ्गठन चितवनका अध्यक्ष टीकादत्त तिमिल्सिनालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घले प्रकाशन गर्दै आएको स्मारिका ‘पत्रकारिता चितवन’ र सम्मानित ३४ जना पत्रकारहरुको जीवनवृत्त (प्रोफाइल) समावेश गरेर प्रकाशन गरिएको ‘योगदान’ पुस्तकसमेत सार्वजनिक गरिएको थियो । नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम भएकाे हाे ।

