मकवानपुर । हाम्रो नेपाली पार्टी (हानेपा) मा विवाद देखिएकाे छ । बागमती प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारमा मन्त्री नियुक्त भएपछि पार्टीकाे विवाद सतहमा आएकाे हाे ।
पार्टी अध्यक्ष अनन्तराज घिमिरेले शुक्रबार हेटौडामा पत्रकार भेटघाट गर्दै पार्टी निर्णय विपरीत बज्राचार्य सरकारमा सहभागी भएको भन्दै कारबाहीको चेतावनी दिए । घिमिरेले बिहीबार पार्टीले राखेकाे छलफलमा सहभागी नभएकाे तथा सम्पर्क बाहिर रहेकाेले अपहरणमा परेकाे आशंका गरेकाे समाचार बाहिरिएकाे थियाे । शुक्रबारकाे पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले बज्राचार्यकाे ‘राजनीतिक अपहरण’ गरेको आरोप समेत लगाए ।
उनले हाम्रो नेपाली पार्टी विकृत राजनीतिमा नलाग्ने पनि बताए । घिमिरेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने पार्टीको निर्णय विपरीत बज्राचार्य लागेको आरोप लगाए । उनले मन्त्रीमा नियुक्त हुनु अगाडि पार्टीसँग कुनै छलफल नगरेको र शुक्रबार बिहानसम्म पनि सम्पर्क हुन नसकेको जानकारी दिए ।
बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टी संसदीय दलका नेता बज्राचार्य बुधबार सरकारमा सहभागी भएका थिए । उनलाई मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका छन् । सपथ लिएपछि बज्राचार्यले पार्टीको सल्लाहमै मन्त्री नियुक्त भएको बताएका थिए । मन्त्री नियुक्त हुनु अघी दलकाे नेताकाे हैसियतमा बज्राचार्यले सत्ता गठबन्धन ३ दल सँग ५ बुँदे सहमती गरेका थिए ।

