मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को व्यवस्थापन समिति अध्यक्षमा नवीन सिग्देल चयन भएका छन् । मंगलबार भएकाे समितिकाे बैठकले सिग्देललाई अध्यक्षमा चयन गरेकाे हाे ।
हेटौडा ४ का वडा अध्यक्ष तथा नेकपा एमाले मकवानपुर सचिन सिग्देल गत फागुन २४ गते भएको ५७ औं अभिभावक भेलाबाट चुनिएका समिति सदस्यहरुबाट सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । त्यस्तै विद्यालय व्यवस्थापन समिति सदस्यमा गोमा सुनुवार, रिमा श्रेष्ठ, कृष्णप्रसाद कँडेल, नारायणप्रसाद तिमल्सिना, राजेन्द्र बस्ताकोटी र राधिका चौंलागाई चयन भएका छन् ।
समिति अध्यक्ष चयन भएका सिग्देलले आफ्नो कार्यकालमा समग्र शिक्षाको गुणस्तर सुधारमा कुनै किसिमको सम्झौता नगरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले ४ नम्बर वडा शैक्षिक अभियानमा लागिपरेको र भावी दिनमा उदारहणीय काम गरेर शैक्षिक क्षेत्रमा नगरभरीनै उल्लेख्य सुधार गर्ने बताए ।
यसैगरी मंगलबार भएकाे विव्यस बैठकले विद्यालयमा डेण्टी स्मृति कोषको स्थापना गरिने भएकाे छ । विद्यालयका पूर्वप्रधानाध्यापक डेण्टी जंग शाहको स्मृतिमा कोष स्थापना गरिने आफ्नो कार्यकालको पहिलो बैठकमा अध्यक्ष सिग्देलले घोषणा समेत गरेका छन् । सुरुवातमा १० लाख रुपैँया रकम कोषमा जम्मा गरिने उनले बताए । काेषकाे रकम विस्तारै बढाउँदै लगिने उनकाे भनाई रहेकाे छ । कोषबाट प्राप्त हुने व्याज रकमबाट विद्यालयमा अध्ययन गरीब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले जानकारी दिए ।
भुटनदेवी माध्यमिक विद्यालयमा हाल २ हजार ३ सय विद्यार्थीहरु अध्यनरत छन् ।

