मकवानपुर । मकवानपुरकाे हटियामा रहेका जनप्रिय माध्यामिक विद्यालय बालमैत्री विद्यालय घोषणा भएको छ । मंगलबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरिन् ।
हेटौंडा–१६, हटियास्थित जनप्रिय मावि हेटौंडा उपमहानगरको पहिलो बालमैत्री विद्यालय घोषणा भएको हो । विद्यालयलाई बालमैत्री घाेषणा गर्दै नगरप्रमुख लामाले मानव विकासको जग नै बालविकास भएकाले बालबालिकाको विकास नभए समाज र देशको विकास नहुने बताइन् ।
विद्यालय प्रधानाध्यापक भुपेन्द्र चौलागाईंले जनप्रिय बाल समुहले सञ्चालन गरेका शैक्षिक गतिविधिहरुको प्रतिवेदन प्रस्तुत गरेका थिए । बाल समूहकी अध्यक्ष सृष्टि अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौँडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला र राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्ण प्रसाद घिमिरेलगायतको आतिथ्य रहेको थियो ।
सामुदायिक विद्यालय तर्फ जनप्रिय मावि बालमैत्री घाेषणा भएसँगै संस्थागत तर्फ हेटौडा २ स्थित बालजागृति स्कुल बालमैत्री घाेषणा मंगलबार नै हुनेछ । यसैगरी हेटौडा ८ काे चन्द्राेदय मावि पनि सामुदायिक तर्फ आजै बालमैत्री घाेषणा गरिने बताइएकाे छ । हेटौडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासन युक्त पालिका घाेषणाकाे तयारी रहेकाे छ ।
विद्यालयकाे लागि निर्धारण गरिएका २६ वटा सूचक पुरा भएकाेले २ सामुदायिक र १ संस्थागत विद्यालय बालमैत्री घाेषणा गरिएकाे हाे । उपमहानगरपालिकामा ७३ वटा सामुदायिक र ४७ वटा संस्थागत विद्यालय छन् ।

