मकवानपुर । मकवानपुरकाे हेटौंडामा भेट्रान्स कप एट ‘ए’ साईड रनिङ शिल्ड फुटबल प्रतियोगिता आजबाट सुरु हुदैछ । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा मंगलबारबाट नवौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप सुरु हुने भएको हाे ।
हेटौंडा–५ मा रहेको क्याम्पा रंगशालामा हुने प्रतियोगितामा ४५ वर्ष उमेर समूहमाथिका पूर्व खेलाडीहरुको सहभागीता रहनेछन् । साथै टिममा २ जना खेलाडी अनिवार्य ५० वर्षमाथिको हुनु पर्नेछ । फागुन २६ गतेसम्म संचालन हुने प्रतियोगितामा १८ वटा क्लबहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको पहिलो दिन मंगलबार ५ खेल हुनेछ । पहिलो खेल बिहान ९ बजे नागस्वती भेट्रान्स हेटौंडा र बौद्ध भेट्रान्स काठमाडौं बीच हुनेछ । दोश्रो खेल मंगलबार नै बिहान १० बजे अभिषेक चर्च र बानेश्वर फ्रेन्स भेट्रान्सबीच हुनेछ । यस्तै, तेश्रो खेल बिहान ११ बजे थारू भेट्रान्स र पशुपति भेट्रान्स हेटौंडाबीच हुनेछ भने चौथो खेल मध्यान्ह १२ः३० बजे चितवन भेट्रान्स र सिमरा भेट्रान्सबीच हुनेछ ।
यस्तै, उक्त दिनको अन्तिम खेल अर्थात पाँचौ खेल दिउँसो २ बजे हेटौडा भेट्रान्स बि र एन जे.जे वाई सि सिमराबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उदघाट्न भने दिउँसो २ बजे क्याम्पा रंगशालामा हुने क्लब सचिव कबिन साङ्गामीले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेतले ५० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् ।

