मकवानपुर । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । भजन शिरोमणिकाे उपनामले परिचित आचार्यकाे सोमबार ललितपुरको मेडिसिटी अस्पताल लैजादै गर्दा निधन भएकाे पारिवारिक स्रोतले जनाएकाे छ ।
३० वर्षदेखि क्यान्सरबाट पीडित ८२ वर्षीय आचार्य दूध मात्रै खाएर बाँचिरहेका थिए । अपराह्न साढे ४ बजेतिर अचानक अक्सिजन लेभल कम भएपछि छोरा स्वरुपराजलगायतते उनलाई मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको हो ।
आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । राष्ट्रिय सम्मानका साथ उनको बिदाइ गर्ने तयारी रहेकाे छ ।
जीवनी
उनी नेपालको धनकुटामा जन्मेका थिए र भारतको कालिम्पोङमा हुर्केका थिए। सन् १९७० को दशकमा दार्जिलिङका गायकहरू नेपाल आउने क्रममा उनी नेपाल आएका थिए। सन् १९७३ मा रेडियो नेपालले आयोजना गरेको अखिल नेपाल गीत प्रतियोगितामा स्वर्ण पदक जितेपछि आचार्यको गायक यात्रा सुरु भएको थियो । उनले ४५० वटा गीत रेकर्ड गरेका थिए भने २५–३० वटा गीत रचना गरेका थिए।
उनको जन्म बुबा बलभद्र र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६ मा भएको थियो। उनले साढे एक वर्षमै बुबा गुमाएका थिए। सोहि बेला गाउँमा चलेको महामारीका कारण आमासँगै उनी भारतको डुअर्सको चियाबगान पुगेका थिए जहाँ उनका जीवनका ३१ वर्ष बिताएका थिए। बिस्तारै आमाको अवस्था पनि कमजोर हुँदै गएपछि कम उमेरमै उनले पारिवारिक दायित्व सम्हाल्नुपरेको थियो। जस्तोसुकै विपत्तिमा पनि सङ्गीतप्रतिको उनको लगाव जारी नै रह्यो। ‘सङ्गीत प्रभाकर’ सम्म उनले अध्ययन गरेका थिए।
तीसको दशकको सुरुवातसँगै उनको साङ्गीतिक जीवनले मोड लिएको थियो। वि.सं. २०३० सालमा काठमाडौंमा भएको ‘अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगिता’मा उनले गाएको ‘होसियार यसबखत समयको मुखलाई चिन…’ प्रथम भएको थियो र उनले स्वर्ण पदक प्राप्त गरेका थिए। यस गीतका संगीतकार तथा रचनाकार अम्बर गुरुङले पनिस्वर्ण पदक प्राप्त गरेका थिए।
प्रतियोगितामा प्रथम भएपछि रेडियो नेपालमा जागिरे भएका थिए। त्यसयता वि.सं. २०४६ सालसम्ममा उनले साढे चार सय गीत रेकर्ड गरिसकेका थिए। दुई दर्जनबाहेक सबै गीत उनले आफ्नै रचनामा तयार पारेका थिए। उनले धेरैजसो भजन र त्यसबाहेक आधुनिक, गजल, राष्ट्रिय, बालगीत लगायत कोएर, ब्यालेट, कविता गायन र चलचित्रको पाश्र्व गायनसमेत गरेका छन्। युगल गीत भने चारवटा मात्रै गाएका छन्।
वि.सं. २०४६ सालको एक साँझ बौद्धमा साङ्घातिक हमला भएपछि भक्तराजका टाउकामा झन्डै सयभन्दा बढी टाँका मार्नुपरेको थियो। त्यसयता लगभग उनको गायनयात्रामा विराम लागेको थियो । उनका दुई सुपुत्र सत्यराज र स्वरूपराज पनि नेपाली सुगम सङ्गीतमा स्थापित गायक छन्। उनको जीवनीमाथि ‘आचार्य’ नामक चलचित्र पनि निर्माण गरिएकाे छ ।
चर्चित गीतहरू
- जीवन भनुँ त घात छ…
- मुटु जलिरहेछ, यो मन गलिरहेछ…
- जति चोट दिन्छौ देऊ मायालु…
- सबै बेहोसी नशा पिएर…
- हजार आँखा हेर्ने मेरी मायालुलाई…….
- भुल्नै सकिन त्यो क्षण मिलनको…
- सबैबाट तिरस्कृत…
- यो कथा सुरु गरेर…
- आँसुजस्तो हो जीवन…
- हजार सपनाहरूको माया लागेर आउँछ……
- जहाँ छन् बुद्धका आँखा…..
- कोही नगरोस् प्रेम अमर….
चर्चित भजनहरू
उनका भजनहरू थुप्रै भएतापनि केहि चर्चित भजनहरू निम्नानुसार छन्
- एकदिन मैले प्रभुसँग सोधेँ
- तन मन बचनले
- सब निदाए प्रभु
- लौन अब मेरो प्रभु
- जगत कि आमा
- अन्नतदेखि बगिरहेको
- जय गुरु गणपती मंगल मूर्ति
- श्री राम प्रभुको चरणकमलमा
- प्रेम प्रभुको शाश्वत धारा
- बजिरहेछ बाँसुरी
- भगवान जीवन नाऊ
- भव सागरमा डुबी सकेँ म
- रहेन छ केही
- कति लिन्छौ परीक्षा भगवान
- दु:खै दु:ख मिल्दा पनि
- दुर्गे देऊ भक्त्ति मलाई
- न धन त्यागेर त्यागी हुन्छ
- हामी भुलेछौ धन जन मधले
- हे मनमोहन मुरलीवाला
- सजल सजल यो नैन भिखारी
- राम यहीँ छन् श्याम यहीँ छन्
- भगवान दर्शन कसरी पाऊँ?
- इश्वर प्रभु नै अन्तर्यामी
पुरस्कार
उनले पाएका पुरस्कारः
- भजन शिरोमणि
- पद्मश्री पुरस्कार
- गोरखा दक्षिणबाहु
- त्रिशक्ति पट्ट (पहिलो)
- वीरेन्द्र-ऐश्वर्य सेवा पदक
- राष्ट्रिय प्रतिभा पुरस्कार
- छिन्नलता पुरस्कार
- राष्ट्रिय सङ्गीत सम्मान २०७५
- थुप्रै लाई फटाइम अचिभमेन्ट अवार्ड

