मकवानपुर । आगामी १३ गतेबाट सुरु हुने दादुरा रुबेला खोप अभियानमा बागमती प्रदेशको ८ लाख ४८ हजार ३२५ जना बालबालिकाहरुलाई खोप लगाइने भएको छ ।
प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर र चितवनमा ९ महिना देखि १५ बर्षसम्मका बालबालिकालाइ खोप लगाइने छ । यि जिल्लाहरुमा विद्यालय र समूदाय स्तरदेखि खोप केन्द्र रहने छन् । प्रदेशको अन्य ९ वटा जिल्लामा ९ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई खोप लगाइने छ । यि जिल्लाहरुमा समुदायस्तरमा खोप केन्द्रहरु रहने छन् ।
खोप अभियानको आगामी १३ गतेदेखि राष्ट्रिय दादुरा रुवेला खोप अभियान चितवन जिल्लाको ईच्छामनकामना गाउँपालिकाको सर्व शान्ति मावि कुरिनटारबाट बागमती प्रदेशका स्वास्थ्य मन्त्रि उत्तम जोशीबाट उद्घाटन गर्ने छन् ।
नेपाल मुलुकमा ४ प्रतिशत र बागमती प्रदेशमा ९ प्रतिशत बालबालिकाहरुले एक पटक पनि खोप नलगाएको स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले जनाएको छ । यस पटकको खोप कार्यक्रममा दादुरा रुवेलासँगै डीपीटी, हेप–बी–हिप चार प्रकारको खोप समावेश गरिएको बागमती प्रदेश स्वास्थ्य निर्देशक दिपक तिवारीले बताए ।
अभियानमा लगाइने खोपमा ग्रामिणभन्दा शहरी क्षेत्रका बालबालिका छुट्ने गरेकोले सूचना सञ्चारलाई प्रभावकारी बनाउन तिवारीले आग्रह गरे । “ग्रामिण व्यक्तिहरु खोप कार्यक्रमलाई प्राथमिकताका रुपमा लिने गरेका छन् तर खोप केन्द्र पहुँच भएको शहरी क्षेत्रमा अन्य आवश्यकता प्राथमिकतामा पर्ने र खोप छुट्ने गरेको पाईएको छ” उनले भने ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय हेटौडाको आयोजनामा दादुरा–रूबेला खोप अभियान सम्बन्धी सञ्चारकर्मीहरुसंगको अभिमूखीकरण तथा अन्तरक्रियात्मक गोष्ठीमा यस्तो जानकारी गराइएको हो ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालय सचिव बद्रीबहादुर खड्काले खोप अभियानलाई सफल पार्नको लागि स्थानीय स्तरदेखि मन्त्रालयतहसम्म समन्वय र सहकार्य हुँदै सबै तयारी सकिएको बताए ।
खोप छुटको कारण पहिल्याइ पुर्ण खोप शतप्रतिशत बनाउने लक्ष्य रहेको खड्काले बताए । अभियानमा लगाइने खोपबाट रोग तथा महामारी नियन्त्रण गर्न, अपाड्डता र मृत्युदरलाई कम गर्न, रोगहरुको निवारण र उन्मुलनको लक्ष्य हासिल गर्न सकिने र दिगोपन कायम राख्न सकिने भएकोले सबैको सहकार्य आवश्यक भएको उनले बताए ।
नेपालले सन् २०२६ सम्ममा पोलियो रोग उन्मूलन गर्ने लक्ष्य लिएको छ । खोप कार्यक्रमको चुनौति धेरै भएको निर्देशनालयका फोकल पर्सन उत्तम राज प्याकुरेलले बताए । अपेक्षित प्रगति ९५ प्रतिशत रहेको र सबै तहमा एकरुपता नभएको, राष्ट्रिय स्तरको तुलनामा प्रादेशिक, प्रदेशको तुलनामा जिल्लाहरुको र जिल्लाको तुलनामा स्थानिय तहको प्रगतिमा एकरुपता नभएको, शून्य खोप तथा ड्रप आउटको सख्या बढ्दै जानुले पनि चुनौती रहेको उनले बताए ।
नेपालमा सन् २०२६ सम्ममा दादुरा, रुबेला रोग निवारण गर्न नेपाल सरकारको प्रतिवद्धता गरेको भए पनि नियमित दादुरा–रुबेला खोपको कभरेज ९५ प्रतिशतभन्दा कम भएकोले अझै लक्ष्य हासिल गर्न चुनौती रहेको उनले बताए । दादुरा–रूबेला खोप अभियान २०७६÷७७ पछि गरिएको सर्भेक्षणअनुसार दादुरा–रुवेला खोपको कभरेज ८८ प्रतिशत मात्र रहेको छ ।
यसपटकको खोप अभियानमा दादुरा रुबेलासँगै डि.पि.टी.–हेप बी–हिव खोपको पनि समाबेश गरिएको छ । १५ वर्ष मुनिका १४ प्रतिशत बालबालिकाको मृत्युको कारण न्यूमोनिया रहेको र विगत तीन वर्षमा पि.सि.भी. खोपको कभरेज कम रहेकोले अभियानमा यो समाबेश गरिएको हो ।
सर्वसाधारणमा खोपमा पहुँच विस्तारको लागि शहरका घना बस्ती, सुकुम्बासी वस्ती, उद्योग, कारखाना, बाल मन्दिर, अनाथ आश्रम, इटा भट्टा, अन्तरदेशीय सिमा, बसपार्क जस्ता ठाउँमा पनि खोप केन्द्र राख्ने सकिने व्यवस्था सरकारले गरेको छ ।
गाउँपालिकाको प्रत्येक वडामा एउटा खोप केन्द्र, नगरपालिकाको प्रत्येक वडामा दुईटा खोप केन्द्र, उमहानगरपालिकाको प्रत्येक वडामा तीनवटा खोप केन्द्र र महान निकाको प्रत्येक वडामा चारवटा खोप केन्द्र थप गरिएको छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुर प्रमुख कृष्णबहादुर मिजार, युनिसेफका तापक्रम विशेषज्ञ हेमराज जोशी, विश्व स्वास्थ्य संगठनका सर्भिलेन्स मेडिकल अफिसर डा सस्मृता बास्तोलालगायतले खोप अभियानको तयारीबारे जानकारी गराएका थिए ।

