मकवानपुर । मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा शसस्त्र प्रहरीकाे फुटबल क्लब एपीएफ फाइनल प्रवेश गरेको छ ।
प्रतियाेगिता अन्तर्गत मंगलबारकाे दोस्राे सेमिफाइनलमा त्रिभुवन क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै एपीएफले फाइनलमा स्थान बनाएकाे हाे । बागमती गाउँपालिका फापरवारीस्थित जनता माविकाे खेल मैदानमा एपीएफले पहिलो हाफकाे ४ औं मिनेटमा गोल गर्दै अग्रता बनाएकाे थियाे । एपीएफ तर्फबाट फोडेफोफनाले गरेकाे १ गोल नै खेलकाे निर्णायक गोल रह्याे ।
अब फाइनलमा एपीएफले मच्छिन्द्रसँग भिड्ने छ । प्रतियोगिता अन्तर्गत सोमबार भएकाे पहिलाे समिफाइनलमा न्युरेाड टिम (एनआरटी) लाई सहज जीतका साथ मच्छिन्द्रले फाइनल प्रवेश गरेकाे हाे । मंगलबार भएकाे समिफाइनल खेलको म्यान अफ द म्याच एपीएफका बुद्धीमान राई घाेषित हुदै नगद १० हजार प्राप्त गरे ।
प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ७ वटा ए डिभिजन र तिन वटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । पाँचौं संस्करणको उपाधीको विजेता भुट्निज युथ स्पोर्ट्स क्लव अमेरिकाले भने यो प्रतियोगितामा सहभागिता जनाएको छैन ।

