मकवानपुर । बागमती प्रदेशक मन्त्रिपरिषद् बैठकले प्रदेशकाे चितवन जिल्लास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि ५२ करोड ५० लाख बजेट स्वीकृत गरेकाे छ । बजेट स्वीकृत भएसँगै अब रंगशाला निर्माणार्थ ठेक्का आह्वान हुने भएकाे छ ।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का आह्वान गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयले जनाएकाे छ । बागमती प्रदेश सरकार र भरपुर महानगरपालिका चितवनले रंगशाला निर्माण गर्ने गरी गत कार्तिक २१ गते सम्झौता गरेका थिए ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेल र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले रंगशाला निर्माणका समझदारी पत्रमा हस्ताक्षर पछि बजेट जुटाउन स्राेतकाे खाेजीलाई तिब्रता दिइएकाे थियाे । रंगशाला निर्माण गर्दाको ऋणको जिम्मा भने संघीय सरकारलाई नै छोड्ने गरी प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गरी तत्काल निर्माण गर्ने गरी सम्झौता भएकाे थियाे ।
भरतपुर महानगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार प्रदेश सरकारले ५२ करोड ५० लाख रुपैयाँ र भरतपुर महानगरपालिकाले २२ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछन् ।
चितवनको भरतपुर नगरपालिकामा रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा रोकिएको थियो । अब बाँकी संरचना भने बागमती प्रदेश र भरतपुर महानगरपालिकाले बनाउने छन् । महानगरले संघीय सरकारसँग पनि रंगशाला निर्माणकाे लागि रकम माग गरेकाे बताइएकाे छ ।
यसैगरी बागमतीको मन्त्रिपरिषद् बैठकले अघिल्लो आर्थिक वर्षमै सम्पन्न भएका आयोजनाहरुको ठेकेदार कम्पनीलाई भुक्तानी दिन बाँकी रकम भुक्तानी दिने निर्णय गरेको छ । विशेष गरी भौतिक पूर्वाधारसँग सम्बन्धित आयोजनाहरुको करिब ४० करोड रुपैयाँ भुक्तानी दिने निर्णय भएको छ ।
मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षका लागि संघीय सरकारको समपूरक र विशेष अनुदानका लागि १०–१० वटा आयोजना पनि सिफारिस गरेको छ । समपूरकतर्फ संघीय सरकार र प्रदेश सरकारको सहलगानी रहनेछ भने विशेष अनुदानका योजनामा संघीय सरकारको एकल लगानी रहनेछ । रङ्गशाला निर्माणकाे लागि मकवानपुरकाे हेटाैंडा उपमाहानगरपालिकाले पनि सहयाेग गरेकाे थियाे ।
