मकवानपुर । मकवानपुरको हेटौडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा धनकुटाको राजारानी क्लब सेमिफाइनल प्रवेश गरेको छ । त्रिभुवन आर्मीलाई ५–४ गोलअन्तरले पराजित गर्दै राजारानीले सेमिफाइनलमा स्थान बनाएको हो ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएकाे छैठौं संस्करण अन्तरगत साेमबारकाे तेस्राे क्वार्टरफाइनल खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएकाे थियाे । ट्राइब्रेकरमा समेत ३–३ गाेल भए पछि सडनडेथमा राजारानीले मकवानपुर गोल्डकपको तेस्रो र चौथौँ संस्करणको विजेतासमेत रहेकाे त्रिभुवन आर्मी पराजीत गरेकाे हाे ।
ट्राइब्रेकरमा राजारानीकाे तर्फबाट विशाल घलान, रुपेश केसी, दीप कार्कीकाे प्रहारले जाली चुम्याे । सुनिल खड्काकाे प्रहार आर्मीमा गाेल रक्षकले राेकिदिदा अशोक खवासकाे प्रहार बाहिरिएकाे थियो । आर्मीको तर्फबाट जितेन्द्र कार्की, कमल थापा र रसबहादुर मगरले गोल गरेका थिए । ट्राइब्रेकरमा आर्मीका बसन्त जिम्बा र श्रीराम चौधरीकाे प्रहार बाहिरियाे ।
सडनडेथमा राजारानीका प्रवेश दनुवार र उमेश कार्कीले गोल गरेका थिए । आर्मीका विमल पाण्डेले गोल गर्दा सिद्धान्त चौधरीका प्रहार धनकुटाका गोलरक्षक दीप कार्कीले बचाएका थिए । खेलमा गोलरक्षक दिप कार्कीले उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ दी म्याच घोषित भए । उनले दश हजार रुपैयाँ प्राप्त गरे । आर्मीले खेलकाे पहिलाे हाफकाे १० औं मिनेटमा गोल गर्दै खेलमा अग्रता कायम गरेका थियो । राजारानीले दाेस्राे हाफकाे ८३ औं मिनेटमा गोल गर्दै खेलमा बराबरी गरेका थियाे ।
आर्मीले प्रतियाेगिता अन्तरगत क्वार्टरफाइनलमा स्थान वाइ पाएर बनाएकाे थियाे । राजारानी भने क्बल चर्च ब्वाईज युनाटेडलाई हराउँदै क्वाटरफाइनमा प्रवेश गरेको थियो । अब सेमिफाइनलमा राजारानी धनकुटाले न्यूरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ । यसअघि सर्लाहीको बागमती युवा क्लब र न्यु रोड टिम एनआरटी सेमिफाइनल प्रवेश गरिसकेको छ । प्रतियोगिता अन्तर्गत् मंगलबार थ्रीस्टार र सशस्त्र प्रहरीको एपीएफ क्लबसँग क्वार्टरफाइनल अन्तरगत चौथो खेल हुने आयाेजकले जनाएकाे छ । ।
आगामी माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले दश लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन्। यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५/२५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा बागमती प्रदेश खेलकुद विकास परिषद्, सामाजिक विकास मन्त्रालय, हेटौँडा मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा प्रतियोगिता भएकाे हाे ।
प्रतियाेगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको छ । पाँचौँ संस्करणको उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबले याे संस्करणमा सहभागिता जनाएकाे छैन ।

