मकवानपुर । मकवानपुरको हेटौडामा जारी शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा बागमती युथ क्लब सर्लाही सेमिफाइनल प्रवेश गरेको छ । आयोजकको मकवानपुर–११ लाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै बागमतीले सेमिफाइनलमा स्थान बनाएको हो ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा भएकाे छैठौं संस्करण आयतबारकाे दोस्राे क्वार्टरफाइनल खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा धकेलिएकाे थियाे । ट्राइब्रेकरमा बागमतीका लागि सिर्जन गौतम, आयुष रानामगर, निर्मल बल र अनिल मगरले गोल गरेका थिए । आयोजकका तर्फबाट ञ्जन विष्ट र स्टेफन समिरको प्रहार मात्र गोलमा परिणत भएको थियो । मकवानपुरका अमित तामाङको प्रहार बाहिरिएको थियो ।
बागमतीका गोलरक्षक रोनक चौलाागाईंले उत्कृष्ट प्रदर्शन गर्दै आयोजककाे सुरजज्यू ठकुरीको प्रहार बचाएका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भइ दश हजार रुपैयाँ प्राप्त गरे । निर्धारित समयकाे पहिलाे हाफकाे ४५ औं मिनेटमा गोल गर्दै खेलमा अग्रता कायम गरेका थियो । सर्लाहीले ८१ औं मिनेटमा पुनः अर्काे गोल गरेकाे थियाे । आयोजक हेटौंडाकाे तर्फबाट दोस्राे हाफकाे ५५ औं मिनेटमा र खेल सकिन एक मिनेट बाँकी रहँदा गोल भएकाे थियाे ।
प्रतियोगिता अन्तर्गत् सोमबार त्रिभुवन आर्मी क्लब र राजारानी क्लब धनकुटाबीच तेस्राे क्वार्टरफाइनल खेल हुनेछ । आगामी माघ २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। उपविजेताले दश लाख रुपैयाँ तथा सर्वोत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछन्। यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५/२५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन्।
मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा बागमती प्रदेश खेलकुद विकास परिषद्, सामाजिक विकास मन्त्रालय, हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा प्रतियोगिता भएकाे हाे । प्रतियाेगितामा एक विदेशी क्लब, नेपालमा रहेका ८ वटा ए डिभिजन फुटबल क्लब, आयोजक टोली सहित मोफसलका तीन गरी १२ वटा टोेलीको सहभागिता रहेको छ । पाँचौँ संस्करणको उपाधि विजेता मनाङ मर्स्याङ्दी क्लबले याे संस्करणमा सहभागिता जनाएकाे छैन ।

