मकवानपुर । शहीद बासुदेव घिमिरे स्मृति पत्रकारिता पुरस्कार–२०८० बाट पत्रकार नवराज शर्मा तिमल्सिना र नवराज न्यौपानेलाई सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपाल मकवानपुर शाखाले हेटौंडामा मंगलबार पत्रकार द्वय शर्मा र न्यौपानेलाई जनही ८ हजार ८ सय ८८ राशीको उक्त पुरस्कारद्वारा सम्मानित गरिएकाे हो ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले उनीहरुलाई नगदसहित सम्मानित गरेका हुन् । कार्यक्रममा शहीद बासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेलाई समेत सम्मान गरिएको थियो । यसैगरी रिपोर्टर्स क्लब मकवानपुरका पूर्व अध्यक्ष सविन न्यौपाने र सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै एष्ट्रोनोभा फाउण्डेशनलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
यस्तै पुरस्कृत पत्रकार न्यौपानेले आफूले प्राप्त गरेको नगद रकम शहीद बासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेलाई स्वास्थ्य उपचारको लागि सोही कार्यक्रममा हस्तान्तरण गरे ।
मुख्यमन्त्री जम्कट्टेलले पत्रकारहरुलाई सामाजिक सुरक्षा अभियानमा आवद्ध गराउन प्रदेश सरकारले संचार रजिष्टारमार्फत् नीतिगत योजना तर्जुमा गरी कार्यान्वयन गर्न लागिएको बताए । उनले पत्रकार महासंघले पनि उक्त अभियानलाई गतिशीलता प्रदान गर्नुपर्नेमा जोड दिए । साथै मुख्यमन्त्री जम्कट्टेलले शहीद बासुदेव घिमिरेका पिता कृष्णप्रसाद घिमिरेको उपचार खर्च प्रदेश सरकारले व्यर्होर्ने गरी प्रदेश सरकारसमक्ष प्रस्ताव राख्ने बताए ।
यस्तै, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेशमा रहेका सबै सञ्चार क्षेत्रलाई समष्तिगत रुपमा आत्मसम्मानका साथ विभिन्न अवसर जुटाउन प्रदेश सरकारले नीतिगत कार्यक्रम र बजेट तर्जुमा गरेको बताए । पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा माथि राखेर राष्ट्रियता र प्रजातन्त्रको सम्बर्द्धनकाे लागि सबै पत्रकार एकजुट हुनुपर्ने बताए ।
यसैगरी रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले प्रेस जगतलाई संगठित मर्यादित र अनुशासित रुपमा अगाडि बढाउनु पर्ने बताए । उनले संचारगृहहरुलाई लोकतान्त्रिक विज्ञापन निष्पक्ष ढंगबाट उपलब्ध गराउन प्रदेश सरकारले सशक्त भूमिका निर्वाह गर्न आग्रह गरे ।
कार्यक्रममा सञ्चार रजिष्ट्रार रेवती सापकोटा, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, राप्रपाका नेता सिताराम बर्तौला, मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ, मकवानपुरका प्रहरी प्रमुख रिताराम रिजाल, पत्रकार महासंघ बागमती प्रदेशका पूर्व अध्यक्ष प्रताब विष्ट, महासचिव कृष्णसारु मगर, महासंघका जिल्ला उपाध्यक्ष धर्व अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

