मकवानपुर । मकवानपुरको हेटौंडामा शुक्रबार शैक्षिक मेला तथा सांस्कृतिक कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा ४ को संयोजनमा दोस्रो शैक्षिक मेलासहित सास्कृतिक कार्यक्रम भएको हो ।
४ नम्बर वडाका सामुदायिक तथा संस्थागत गरी ८ वटा विद्यालयको मेलामा सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालालगायत करिब १० हजार जनाले मेलाको अवलोकन गरेको वडा अध्यक्ष नवीन सिग्देलले बताए ।
मेलामा विज्ञान, गणित र सामाजिक विषयको प्रदर्शनी, नृत्य प्रतियोगिता, गायन प्रतियोगिता गरिएको थियो । जसमध्ये गणित प्रदर्शनीमा भुटन भुटनदेवी मावि प्रथम, श्रमिक मावि द्वितीय र आधुनिक राष्ट्रिय मावि तृतीय भएको छ । सामाजिक शैक्षिक प्रदर्शनी तर्फ आधुनिक राष्ट्रिय मावि प्रथम, ब्रम्हदिम एकेडेमी द्वितीय र श्रमिक मावि तृतीय भएका छन् ।
यसैगरी विज्ञान शैक्षिक प्रदर्शनी तर्फ भुटनदेवी मावि प्रथम, आधुनिक राष्ट्रिय मावि द्वितीय र सत्यम जेभियर्स मावि तृतीय भएको छ । यस्तै गायन तर्फ श्रमिक माविका अमन माझी प्रथम हुँदा ब्रम्हदिक एकेडेमीका दियान्सु बानियाँ द्वितीय र आधुनिक माविकी रञ्जिता सुनार तृतीय भइन । यस्तै सामुहिक नृत्य प्रतियोगिता तर्फ ब्रम्हदिक एकेडेमी प्रथम, श्रमिक मावि द्वितीय र भुटनदेवी मावि तृतीय भएको हो ।
प्रदर्शनी अन्तरगत नृत्य र शैक्षिक समाग्री प्रदर्शनीमा छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको थियो । नृत्य र शैक्षिक सामग्री प्रदर्शनीमा प्रथम हुने प्रत्येक समूहलाई १० /१० हजार नगदसहित सम्मानित गरिएको थियो । यसैगरी प्रतिस्पर्धाका विधागत प्रथम हुने सहयाेग शिक्षकलाई समेत ३ हजार नगदले सम्मान गरिएको छ । यसैगरी द्वितीय हुने प्रत्येक समूहले ७/७ हजार तथा द्वितीय हुने सहयाेग शिक्षकलाई २ हजार नगदद्वारा सम्मानित गरिएको आयाेजकले जानकारी दिएकाे छ । यस्तै तृतीय हुने प्रत्येक समूहले ५/५ हजार तथा तृतीय हुने सहयाेग शिक्षकलाई १ हजार नगदद्वारा सम्मानित गरिएको थियो ।
गायन तर्फ प्रथम स्थान प्राप्त गर्नेले ५ हजार, प्रथम सहयाेग शिक्षकलाई ३ हजार द्वितीय हुनेले ४ हजार द्वितीय सहयाेग शिक्षकले २ हजार तथा तृतीय हुनेले ३ हजार र सहयोग शिक्षकले १ नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
शैक्षिक गुणस्तर सुधार अभियानमा निरन्तरता दिएपछी धेरै सुधार भएकाे अध्यक्ष सिग्देलले दावी गरे । ‘संस्थागत र सामुदायिक विद्यालयहरुबीच समन्वयन र प्रतिस्पर्धा दुबै हुनुपर्छ’ उनले भने ‘सरोकारवालाहरुले बजेट विनियोजनको पहिलो प्राथमिकता शिक्षालाई दिनुपर्छ ।’ अब वडाले वडा स्तरीय खेलकुद कार्यक्रम, जिल्ला स्तरीय शिक्षक भलिबल कार्यक्रम, इसीडी शैक्षिक सामग्री निर्माण तालिम, शिक्षक, विद्यार्थी तथा अभिभावक सम्मानलगायतका कार्यक्रमहरुको आयोजना गर्ने सिग्देलले जानकारी दिए ।
वडाभित्रका संस्थागत र सामुदायिक विद्यालयहरुबीच अझ बढी भाइचाराको सम्बन्ध स्थापित गर्ने विद्यार्थीकाे प्रतिभाकाे आदान प्रदानकाे उद्देश्यले कार्यक्रम गरिएको श्रमिक माविका प्रध्यानाध्यापक तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ का अध्यक्ष श्रीराम दाहालले बताए ।
गतबर्ष पनि सामुदायिक तथा संस्थागत विद्यालयबीच प्रतिस्पर्धा, शैक्षिक अध्ययन तथा गुणस्तर सुधार एवम् विद्यार्थीको सिर्जनशील प्रतिभाको उजागर गर्ने उद्देश्यले ४ नम्बर वडा कार्यालयले शैक्षिक मेला आयोजनामा गरेको थियो ।

