मकवानपुर । मकवानपुरको हेटौडा उपमहानगरपालिका ३ नम्बर वडा कार्यालयले ज्येष्ठ नागरिक तथा अपाङ्गता भत्ता प्राप्त गर्नेलाई ब्यान्केट बितरणसहित सम्मान गरेको छ ।
शुक्रबार वडा कार्यालयले ६८ देखि ७० वर्षका ज्येष्ठ नागरिक तथा अपाङ्ग भत्ता प्राप्त गर्ने लाभग्राहीलाई १/१ थान न्यानो कपडा ब्लान्केट वितरण गरि सम्मान समेत गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को बार्षिक कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मानसहित ब्लान्केट बितरण गरिएको वडा अध्यक्ष ढलक बहादुर थापाले बताए । ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकलाई राज्यको अनुभूति गराउदै जाडो मौसममा जीवनयापनको सहजताका लागि ब्लान्केट वितरणसहित सम्मान गरिएको उनले बताए ।
सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीमा नामावली समाबेश भएका ६८ देखि ७० वर्ष का १ सय १५ जना जेष्ठ नागरिक, १५ जना पूर्ण अपाङ्गता र ३८ जना आंशिक अपाङ्गता भएकाकोमा शुक्रबार १ सय ५ जनालाइ सम्मान सहित ब्लान्केट वितरण गरिएको वडा सचिव महेन्द्र चापागाईंले जानकारी दिए । शुक्रबारको कार्यक्रममा उपस्थित हुन नसेकेका बाकी लाभग्राहीलाई वडा कार्यालयबाट घरघरमा नै गई वितरण गरिने चापागाईंले बताए ।
वडा सदस्य सबिना बिडारीले प्रथम चरणको ज्येष्ठ नागरिक सम्मान कार्यक्रम पश्चात दोश्रो चरणको कार्यक्रममा वडा भित्रका सुत्केरी महिला तथा आर्थिक एवं सामाजिक रुपले बिपन्न, असहाय तथा गरिबलाई समेत ब्लान्केट वितरणको कार्यक्रम रहेको जानकारी गराइन ।
यस्तै वर्तमान युवा पुस्ताले ज्येष्ठ नागरिकको सम्मान गरे मात्र आउँदो पुस्ताले पनि ज्येष्ठ नागरिकको सम्मान गर्ने, ज्येष्ठ नागरिक समाजका अमूल्य निधि र पथप्रदर्शक हुन् भन्ने भुल्न नहुने, अपाङ्गता भएका व्यक्ति समेतको सम्मान गर्नु राज्यको दायित्व भएको हुँदा यस्ता प्रकारका कार्यक्रमको आगामी दिनमा निरन्तरता पाउनु पर्ने धारणा राखेका थिए ।
३ नम्बर वडा अध्यक्ष ढलक बहादुर थापाको अध्यक्षता तथा ज्येष्ठ नागरिक वडा मंच अध्यक्ष माधव प्रसाद ढकालको आतित्थ्यतामा भएको कार्यक्रममा वडा सदस्यहरु, टोल विकास संस्थाका अध्यक्षहरु, वडा कार्यालयका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।
३ नं. वडा कार्यालयले गत बर्ष ७० बर्ष देखि माथिका २ सय ६० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्दै ब्लान्केट वितरण गरेको थियो ।

