मकवानपुर । पूर्वराजा ज्ञानेन्द्र शाह आज आइतबार हेटौँडा आउँने भएपछी यसकाे सबै तयारी पुरा भएकाे राप्रपा मकवानपुरले जनाएकाे छ।
मकवानपुरमा रहेकाे विभिन्न शक्तिपिठहरुकाे दर्शनकाे क्रममा उनी हेटाैंडा आउन लागेकाे राप्रपाले जनाएकाे छ । धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आरधाना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि पूर्वराजा ज्ञानेन्द्र हेटौँडा आउन लागेका हुन्।
उनको भ्रमण सफल पार्न मकवानपुर क्षेत्र नम्बर-१ का प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहको संयोजनमा १ हजार १ सय ११ सदस्यीय मूल समारोह समिति बनाइएको छ। साथै १० वटा उपसमिति गठन गरिएको सांसद सिंहले जानकारी दिए।
यता, कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि पूर्वराजा ज्ञानेन्द्रको स्वागतका लागि छुट्टै तयारी गरिएको बताएको छ। हेटौँडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजाआराधना र शुभेच्छुकसँग प्रत्यक्ष भेटघाटका लागि आउन लागेका पूर्वराजा शाहलाई भव्य स्वागत गर्ने निर्णय भएको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिए।
पार्टी जिल्ला समितिको शनिबार बसेको बैठकले तयारीका लागि जिम्मेवारी बाँडफाँड गरेको उनले बताए। ‘पार्टी अध्यक्ष कमल थापाले व्यापक तयारी गर्न निर्देशन दिनुभएको छ,हामी तयारीमा जुटिसकेका छौँ’, जिल्ला अध्यक्ष सापकोटाले भने।
पूर्वराजा शाहलाई दिउँसो १२ बजे हेटौँडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गर्ने कार्यक्रम रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, दिउँसो १२:३० मा हेटौँडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बामा पुजाआरधाना, २ः३० मा हेटौँडा–१० स्थित भुटनदेवी मन्दिरमा पूजाआरधानासहित शुभेच्छुकसँग भेटघाट हुनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका प्रवक्ता आयुष डोटेलका अनुसार ४ः३० मा हेटौँडा रिसोर्टमा खेलप्रेमी, बुद्धिजीवी, व्यवसायीलगायतसँग भेटघाट गरी आजै हेटौँडाबाट फर्कने कार्यतालिका रहेको छ ।

