मकवानपुर । मकवानपुरकाे हेटौंडामा नेपाली चलचित्र काँडेतारको विशेष प्रदर्शन हुने भएको छ । हेटौडामा मंगलबार पत्रकार भेटघाट गर्दै आगामी पुस २७ गते काँडेतारकाे विशेष प्रदर्शन हुने जानकारी गराइएकाे हाे ।
सामाना फिल्मस् प्रालिले खुला सीमाका कारण झडपमा परि मृत्यु भएका परिवार तथा घाइतेहरुको लागि सहयोगार्थ च्यारिटी शो गर्न लागेकाे चलचित्रका निर्देशक नवल खड्काले जानकारी दिए । नेपाल भारतको सीमा विवाद, सीमामा हुने झैझगडा, खुल्ला सीमानाका कारण नेपाल र नेपालीमा परेकाे समस्या चलचित्रको कथासार रहेको निर्देशक खड्काले बताए । उनका अनुसार देशभर ६० भन्दा बढी विशेष प्रदर्शन गरिसकेको र आगामी फागुन २७ गते चलचित्र देशभर प्रदर्शन हुनेछ ।
काँडेतार आगामी पुस २७ गते दिउँसाेकाे साेमा नारायणी मल अवस्थित एनएस सिनेमा हलमा प्रदर्शन गरिने छ । सत्यकला राई, मकिको राई र अञ्जु केसीले निर्माण गरेकाे काँडेतारमा नवल खड्का, गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, मुलरीधर, प्रशान्त यादव, प्रेम सुब्बा लगायतको कलाकारहरुको अभिनय रहेको छ । निर्देशक खड्काकै कथा रहेकाे चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व, तारा थापा (किम्भे) र बन्दे प्रसादको सम्पादन रहेकाे छ भने र सौरव लामाले खिचेका हुन् ।
चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष कपील खड्काको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा चलचित्रका कलाकार प्रशान्त यादव, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, कलाकार सुशान्त कुमार श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।

