मकवानपुर । मकवानपुरको थाहा नगर तथा उत्तरी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नका लागि शुक्रबारबाट फोटो प्रदर्शनी गरिएृकाे छ । हेटौंडाको बुद्धचोकमा शुक्रबारदेखि सुरु फोटो प्रदर्शनी शनिबारसम्म हुनेछ ।
फाेटो प्रदर्शनीमा ६० वटा फोटो राखिएको हो । शु्क्रबार हेटौंडा उपमहानगरपालिका नगर प्रमुख मिना कुमारी लामाले फोटो प्रदर्शनीको उद्घाटन गरेकी छिन् । उद्द्घाटन गर्दै मेयर लामाले मकवानपुरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने विषयमा जनप्रतिनिधिहरुबिच छलफल भइरहेको बताईन् ।
थाहानगरका फाेटाेग्राफरहरु गणेश विष्ट, सुरजकुमार भुजेल, विज्ञान विष्ट, रामकुमार कार्की, कृष्ण अधिकारी, रुपेश गाेपाल, श्रीकृष्ण श्रेष्ठ, प्रेम बलामी र शम्भु अधिकारीले खिचेको फोटोहरू प्रदर्शनीमा राखिएका छन् । थाहा नगरको पर्यटकीय क्षेत्र, प्राकृतिक, धार्मिक स्थल, सभ्यता, संस्कृति र जीवनशैली समेटिएका फोटो प्रदर्शनीमा राखिएको छ ।
काठमाडौँबाट नजिक रहेको थाहामा पर्यटनको प्रचुर सम्भावना रहेको उत्तरी मकवानपुरको सम्पदा, सभ्यता र जीवनशैलीलाईसमेटेर फोटाे प्रदर्शनी गरिएकाे फरक सोचका संयोजक यादवजंग रायमाझीले बताए । थाहा नगरसँगै इन्द्रसरोवर गाउँपालिका आसपासका क्षेत्र आन्तरिक एवम् बाह्य पर्यटकको रोजाइमा परिरहेको सन्दर्भमा आयोजना गरिएको फोटो प्रदर्शनीले मकवानपुरकाे उत्तरी क्षेत्रकाे पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्ने आयोजकले बताएकाे छ ।
थाहा नगरपालिकाको आयोजना एवम् हेटौँडा उपमहानगरपालिका, नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखा र फोटो पत्रकार सङ्घ मकवानपुरको सहयोगमा तथा फरक सोच र शिखर क्लबको व्यवस्थापनमा भइरहेको प्रदर्शनी शनिबारसम्म हुनेछ ।









