चितवन। चितवनकाे भरतपुरमा अञ्जान प्रदीपको कविता सुनिएका छन् । सम्पूर्ण किताब नारायणगढले शनिबार कवि प्रदीपको कविता वाचन कार्यक्रम आयोजना गरी कतिता सुनिएकाे हो । कवि प्रदीप पहिलोपटक एकल कविता वाचनमा उभिएका हुन् ।
कार्यक्रममा कवि प्रदीपले १२ वटा कविता वाचन गरेका थिए । सुरुवाती चरणमा सुसाइड नोट शीर्षकको कविता सुनाएर कार्यक्रम अगाडी बढाएका उनले कुण्डली, आविष्कार, हतकडी र मलामी शीर्षकका कविता प्रस्तुत गरे । दोस्रो चरणमा इन्द्रेणी आकाशदेखि बाकससम्म, स्याण्डग्लास सृष्टिको काउन्टडाउन, म एक झरी हिँडिरहेछु, काँडा, तिमी निदाइरहेका छौँ, डायरीको च्यातिएको पानाबाट र सम्मोहन शीर्षकका कविता उनले सुनाए । कार्यक्रममा परिवेश मुन्छेले प्रदीपको `चोरी´ शीर्षकको कविता सुनाएका थिए ।
कार्यक्रममा उदय अधिकारी, रमेश प्रभात र विपिन पाठकले कवि प्रदीपकाे व्यक्तित्व र कृतित्वका बारेमा भनाई राखेका थिए । रङ्गमञ्च र कवितामा प्रदीपको उपस्थिति समानान्तर र लोभलाग्दो भएको उदय अधिकारीले बताए । सम्पूर्ण किताबले व्यवसायसँगसँगै स्रस्टालाई मञ्च प्रदान गरेर सिर्जनालाई प्रस्तुत गर्ने अवसर प्रदान गरेको रमेश प्रभातले बताए । यसैगरी कवि विपिन पाठकले नाटकमा सक्रियताका साथ लागेका प्रदीप कवितामा पनि जम्दै गएको बताए ।

