मकवानपुर । मकवानपुरको हेटौंडामा रहेको मानव सेवा आश्रममा देशका सात वटै प्रदेशका मुख्यमन्त्रीहरुले अवलोकन गरेका छन् ।
अन्तरप्रदेश मुख्यन्त्री भेला तथा बैठकको लागि बागमती प्रदेशको राजधानी हेटौंडा आइपुगेका मुख्यन्त्रीहरु कोशी प्रदेशका केदार कार्की, मधेस प्रदेशका सरोजकुमार यादव, बागमती प्रदेशका शालिकराम जम्कट्टेल, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका डिल्ली बहादुर चौधरी, कर्णाली प्रदेशका राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह आश्रममा पुगेका हुन् ।
उनीहरुसँगै सचिव तथा मन्त्रीहरुले पनि आश्रमको अवलोकन गरेका थिए । सहयोगापेक्षि सडक मानव मुक्त अभियानका साथ सञ्चालित मानव सेवा आश्रमको भ्रमणपछि उनीहरुले यसअघि भइरहेको सहयोगलाई निरन्तरता दिंदै थप सहयोगको प्रयास गर्ने वचन दिएको मानव सेवा आश्रमले जनाएको छ ।
घर परिवार र आफन्तविहीन भई खुला आकाशमुनी कष्टपूर्ण जीवन जिइरहेकाहरुलाई उद्धार, उपचार र सम्भवभएकाहरुको पारिवारीक पुनर्मिलन गराउँदै आइरहेको मानवसेवा आश्रम मुख्यालयको अवलोकन गर्दै सातै प्रदेशका मुख्यमन्त्रीले सहकार्यको लागि आह्वान गरेका हुन् ।
मानवसेवा आश्रमको कार्य प्रशंसानिय रहेको बताउदै सातैवटा प्रदेशबाट आश्रमको सेवालाई प्रभावकारी बनाउन आवश्यक साथ र समर्थन गर्ने उहाँहरुले प्रतिवद्धता व्यक्त समेत गरेका छन् ।
२०६९ सालमा मकवानपुरको हेटौंडाबाट शुभारम्भ भएको मानवसेवा आश्रमले देशको सातै प्रदेशमा आफ्नो सेवाकेन्द्रहरु विस्तार गरी २०८१ सालभित्र सबै प्रदेशलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रेदश घोषणा गरिसक्ने लक्ष्यका साथ अघि बढीरहेको छ । जसमध्ये कर्णाली प्रदेश र गण्डकी प्रदेश सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा भइसकको छ।
२०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य सहित नेपाल सरकारसँग सार्थक साझेदारीको तयारीमा रहेको मानवसेवा आश्रममा सातै प्रदेशका मुख्यमन्त्रीहरुको एकसाथको भ्रमणले बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणमा कोशेढुङ्गा सावित हुने मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले बताए ।
मकवानपुरसहित सातै प्रदेशको १९ जिल्लामा २४ वटा शाखाहरु रहेको आश्रमले संस्थाले तीनै तहको सरहकारको सहकार्यमा २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने लक्ष्य लिएको छ ।
हेटौंडा स्थित आश्रमको केन्द्रीय कार्यालयमा हाल २२० जना आश्रृतहरु छन । जसमध्ये १ सय जना पुरुष, ८० महिला र २५ बालबालिका रहेका छन् । भने देशभरीका आश्रमहरुमा १ हजार ६७९ जना आश्रित छन् ।
तस्बिर साैजन्य: हुमनाथ पाैडेल/मानव सेवा आश्रम

