- गाेपिनी दाहाल
मकवानपुर । जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानले नकारात्मक रुपम बढेको जलवायु परिवर्तन नियन्त्रण गर्न वातावरण मैत्री व्यवहार गर्नुपर्ने बताएका छन् । जलवायु परिवर्तनले सबैपक्षमा समस्या भएकाेले नेतृत्वलाई दाेष दिनुभन्दा सबैले आ आफ्नाे तहबाट वातावरणमैत्री कार्य गर्नुपर्ने बताइएकाे छ ।
आगामी भविष्यको लागि दीर्घकालीन सोचाइ राखेर बिषादीको प्रयोग कम गर्दै प्रकृतिमैत्री कृषि कर्म गर्न उनले आग्रह गरे । जलवायु परिवर्तन सम्बन्धि नीतिगत सवाल मुद्दा चुनौती र आगामी संभावनाहरूबारे हेटाैंडामा आज आयाेजित अन्तरसंवादमा उनले यस्तो बताएका हुन् । पर्यावरणलाई असर पुग्ने काम रोक्दै, कस्मेटिक उत्पादनमा ध्यान कम गर्नुपर्ने उनले बताए ।
स्थानीय तहले बजेट बनाउंदा, नीति तथा कार्यक्रम बनाउंदा गैसससंग समन्वय गर्नुपर्ने उनकाे धारणा थियाे । जिल्ला समन्वय समितिले आगामी दिनमा नीतिगत याेजनाहरु बनाउँदा आफ्नो तर्फबाट समन्वय र पहलमा ध्यान दिने उनले बताए । कार्यक्रममा मनहरी गाउँपालिका वडा ३ अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक अनन्तप्रकाश अर्यालले किसानलाई क्षतिको व्यवस्थापन गर्ने योजनाले बजेटको व्यवस्थापन गरिएको, सुधारिएको चुल्हो, बृक्षरोपण जस्ता कार्यक्रम राखिएको बताए ।
कार्यक्रम अभियन्ता निर्मल चेबाङले कार्यपत्र प्रस्तुत गरेका थिए । बाली लगाउंदा, पशुपालन गर्दा पनि जलवायु परिवर्तनबारे सोच्नुपर्ने, पृथ्वीको तापक्रममा उतारचढावले मानवीय जीवन शैलीमा चुनौती थपेकोले यसले बित्तिय र प्राबिधिक क्षमताको रुपमा पनि प्रभाव पार्ने उनले कार्यपत्रमा प्रस्तुत गरेका थिए । बार्षिक योजना तर्जुमा यसबारे संबेदनशीलता आवश्यक भएको उनले बताए ।
सामाजिक रुपमा पछाडी परेकाे समूदायलाई झन् समस्या भएकाे भन्दै उनीहरूको जीवनस्तर उकास्न पनि यो चुनौती बारे ध्यान दिनुपर्ने बताए । ‘परम्परागत कृषिको संभावना घट्यो, भौगोलिक जोखिम बढ्यो, स्थानीय सरकारले के गर्ने अब ? नीतिगत अभ्यास के भए, मुलप्रवाहमा के कस्ता नीति कार्यान्वयन भए वा भएनन् ? समुदायको अनुकूलन कसरी बढाउने, स्थानीय सरकार सञ्चालन ऐनले के भन्छ ? पन्चबर्षिय योजनाले के भनेको छ ? स्थानीय अनुकुलन कार्ययोजना २०७६ ले के व्यवस्था गरेकाे छ ? जस्ता सवालमा ध्यान दिनुपर्ने उनले बताए ।
सन २०५० सम्म कार्वन उत्सर्जनलाई शुन्यमा झर्ने लक्ष्य रहेकाेले यस अनुरुप काम गर्न तर्फ ध्यान दिनुपर्नेमा सहभागीहरुले जाेड दिएका थिए । एक्सन एड नेपालको आर्थिक सहयोग र मकवानपुर महिला समूहको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय अनुकुलन योजना, २०७६ अनुसार ताेकिएकाे क्षेत्रहरुमाथि छलफल गरिएकाे थियाे ।
२०२१ देखि २०५० सम्म मुल अनुकुलनका क्षेत्रहरुका रुपमा कृषी तथा खाद्य सुरक्षा, वन, जैनिक विविधता तथा जलाधार संरक्षण, जल श्रोत तथा उर्जा, स्थानीय ग्रामिण तथा सहरी बस्ती, उद्योग, यातायात तथा भौतिक पूर्वाधार, पर्यटन, प्राकृतिक तथा सास्कृतिक सम्पदा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, जलवायुजन्य प्रकोप न्यूनीकरण तथा विपद् जोखिम व्यवस्थापन, लैंगिक समामता तथा सामाजिक समावेशीकरण, जिविकोपार्जन र सुशासन जलवायु परिवर्तन जस्ता बिषय रहेका छन् ।
कार्यक्रममा हिमराइट्स मकवानपुर कार्यक्रम संयोजक कुमारी वाइबाले याे विषय मानव अधिकारको सवाल भएको बताइन् । कार्यक्रममा सेलर्डका जगन्नाथ सुबेदीले माटो बचाउको सवाललाई विशेष ध्यान दिनुपर्ने बताए । यसैगरी माइती नेपाल मकवानपुर प्रमुख माया लामा, सामाजिक अभियन्ता दिपेन्द्र पाठक, मनहरी गाउँपालिका सामाजिक विकास शाखाका ज्ञानेन्द्र ढकालले जलवायु परिवर्तनबारे सवाल उठाएका थिए ।
कार्यक्रममा मकवानपुर मनहरी ३ कि किसान शुसिला उपाध्यायले जनवायु परिवर्तनकाे कारण बाली उत्पादनमा समस्या भाेगेकाे बताइन् । ‘धान मकै फलेन र कागती लगाएं तर कागती पनि फलेन’ उनले भनिनन् ।
यसैगरी हेटौंडा १० को वडा अध्यक्ष तथा हेउमनपा वन तथा वातावरण समिति संयोजक फुर्वा दोर्जे लामा जलवायु परिवर्तनको जिम्मेवारी नेतृत्व वा जनप्रतिनिधिलाई मात्रै थोपर्ने नहुने, स्थानीय क्षेत्रका सबैले आत्मासात गर्नुपर्ने बताए ।
