मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट लागुऔषध गाँजा सहित २ जना महिला पक्राउ गरेकाे छ । हेटौडा ११ थानाभर्याङबाट ताप्लेजुङ घर भई सर्लाही मलंगवा नगरपालिका वडा नं.४ वस्ने ३० बर्षीया मनिषा लिम्बु र ३९ वर्षीया शान्ति लिम्बु रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत काठमाडौंबाट महोत्तरी गौशालातर्फ जादै गरेको बा.प्र.०१–००६ ख ४४८९ नम्बरको बसलाई सुरक्षाजाँच गर्दा बसमा सवार लिम्बुद्वयको साथबाट १४ किलो ९ सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
प्रहरीका अनुसार उनीहरु हेटौडा उपमहानगरपालिका वडा नं.१९ नेवारपानीवाट दुई वटा कालो झोला लिएर उक्त बसमा चडेका थिए । अस्थायी प्रहरी पोष्ट थानाभर्याङकाे टोलीले चेक गर्ने क्रममा उनीहरुलाई उक्त परिमाणकाे लागुऔषध सहित पक्राउ गरिएकाे हो । लागुऔषध सहित दुबै महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

