मकवानपुर । स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चितताकाे लागि निर्वाचन कानुन परिमार्जन गरिनु पर्ने परराष्ट्र मन्त्री नारायण प्रसाद साउलले बताएका छन् । एसियाली निर्वाचन सरोकारवाला मंचको छैठौं सम्मेलनकाे उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन ।
‘दिगो लोकतन्त्रको निर्माण: निर्वाचनका चुनौती र अवसरहरूको सम्बोधन’ विषयक एसियाली निर्वाचन सरोकारवाला मंच (AESF) को छैठौं सम्मेलनमा परराष्ट्र मन्त्री साउदले निर्वाचन आयोगले संवैधानिक रूपमा स्वतन्त्र निकायका रूपमा काम गरेको बताए । ‘आयाेगले तीनै तहको निर्वाचनलाई पटक सफलतापूर्वक सम्पन्न गरेको छ’ उनले भने ।
त्यसैगरी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतान्त्रिक मूल्य, मान्यता र प्रतिबद्धतालाई थप सुदृढ गर्न फोरमले थप मार्गदर्शन दिने विश्वास व्यक्त गरे । ‘निर्वाचनमा नागरिकको व्यापक सहभागिता खोज्न र लोकतन्त्रलाई परिणाममुखी बनाउन सामूहिक प्रतिबद्धता आवश्यक छ‘ उनले भने । यस्तै उद्घाटन सत्रमा प्रमुख वक्ता पूर्व भारतीय प्रमुख निर्वाचन आयुक्त एसवाई कुरैशीले निर्वाचन व्यवस्थापन सुधारको विषय वृहत, निरन्तर र चुनौतिपूर्ण रहेको बताए । ‘यस्ता फोरमहरुबाट असल अभ्यासको सिकाइ सबै निर्वाचन व्यवस्थापन निकायका लागि एक महत्वपूर्ण अवसरको रुपमा रहने छ’ उनले भने ।
कार्यक्रममा निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले निर्वाचन आयोगले सुधारको कामलाई निरन्तर अघि बढाउँदै आएकाे बताइन् । एनफ्रेलका वर्तमान अध्यक्ष राेहन हेट्टीअर्चीले AESF को स्थापनाका उद्देश्य र संस्थाले गरेका एवम् गर्न सक्ने प्रयासका बारेमा प्रकाश पारेका थिए | निर्वाचन आयोग, नेपाल र एशियन नेटवर्क फर फ्रि इलेक्शन(ANFREL)को संयुक्त आयोजनामा आयोजित सम्मेलनमा एसियाली क्षेत्र लगायतका विभिन्न ४० देशका करिव २५० जनाको सहभागीता रहेको थियो । तीमध्ये ९ देशका निर्वाचन व्यवस्थापन निकायका २४ जना पदाधिकारीहरु समेत उपस्थित रहेका थिए |
AESF को पहिलो सम्मेलन सन् २०१२ मा थाइल्याण्डमा र त्यस पश्चात क्रमशः टिमोर-लेस्ते (२०१५), इन्डोनेसिया (२०१६), श्रीलंका (२०१८) हुदै पाँचौ सम्मेलन (२०२१) Covid-19 का कारण अनलाइन सम्पन्न भएको थियो। AESF का प्रत्येक सम्मेलनमा भएका छलफल तथा उपलब्धहरु समेटी घोषणापत्र (Declaration) समेत जारी गर्दै आएकाे छ । नेपाल र अन्य देशका विज्ञहरूद्वारा सातवटा विषय अन्तर्गत २४ वटा शिर्षकका विषयमा कार्यपत्र प्रस्तुति भएका थिए र प्रस्तुत उक्त विषयहरुमा गहन छलफल पश्चात २७ बुंदे काठमाडौं घोषणापत्र जारी गरिएको छ ।
निर्वाचन प्रणालीमा सामयिक सुधार, निर्वाचन कानूनमा परिमार्जन, प्रविधिमैत्री निर्वाचनको अङ्गीकार, निर्वाचनको निष्ठाको प्रवर्धन, मतदाता शिक्षामा नागरिकको पहुँच विस्तार, समावेशीकरण, मतदान केन्द्रको पूर्वाधार सुधार, निर्वाचन शिक्षामा सामाजिक संजालको प्रयोग, मिथ्या सूचनाको नियन्त्रण, वातावरण मैत्री निर्वाचन, निर्वाचनमा नागरिकको सहभागिता जस्ता प्रमुख विषयहरु उक्त घोषणापत्रमा समेटिएका छन् |
दुइ दिनसम्म संचालित सम्मेलनको समापन परराष्ट्र मन्त्री साउदले गरेका थिए । सम्मेलनका संयुक्त आयोजक निर्वाचन आयोग, नेपाल र एनफ्रेललाई बधाई तथा धन्यवाद व्यक्त गर्नुहुँदै उनले सम्मेलनमा उठेका तथा आदानप्रदान भएका अनुभवले निर्वाचन व्यवस्थापनको सुधारमा थप टेवा पुग्ने बताए । सम्मेलनमा सहभागीहरुले AESF को छैठौं सम्मेलन सबैको साथ र सहयोगबाट सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुहुँदै सम्मेलनले पारित गरेका घोषणापत्रका बुँदाहरुको कार्यान्वयनमा सम्बन्धित सबै पक्षको सकारात्मक साथ र सहयोग रहने अपेक्षा गरेका छन् |
निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले सम्मेलनका संयुक्त आयोजक निर्वाचन आयोग, नेपाल र एनफ्रेलले नेपालको राजधानी काठमाडौँमा AESF को छैठौं सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै सम्मेलनको सफलताको लागि प्रत्यक्ष एवं परोक्ष रूपमा सहयोग पुर्याउनुहुने सबै संस्था, निकाय, पदाधिकारी एवं व्यक्तिप्रति धन्यवाद व्यक्त गरेका छन् ।
काठमाडाैंमा मंसिर २० गते बुधबारबाट सुरु एसियाली निर्वाचन सरोकारवाला मंच (Sixth Asian Electoral Stakeholder Forum -AESF) सम्मेलन विहीबार सम्पन्न भएकाे हाे ।

