मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिकामा रहेकाे किताबघरले दोस्राे चरणमा विद्यालयमा पुस्तक प्रदर्शनी यात्रा–२०८० को सुरुवात गरेको छ । हेटौँडा–४, भैरवरोडस्थित किताब घरले विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले विविध विषयका पुस्तक स्कुलस्कुलमै पुगेर प्रदर्शनीको सुरुवात गरेकाे हाे ।
विद्यालयमा पुस्तक प्रदर्शनी यात्रा–२०८० हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदनबाट सुरुवात गरिएकाे किताबघरका सचालक छवी अनित्यले जानकारी दिए । पुस्तक यात्रमा विद्यार्थीलाई कक्षागतरुपमा पुस्तक प्रदर्शनीमा सहभागी गराइएको थियो । ‘नेपाली तथा अङ्ग्रेजी भाषासाहित्य, इतिहास, विज्ञान, खेलकुद लगायतका ४ सय बढी शीर्षकका बालपुस्तक प्रदर्शनीमा उपलब्ध हुनेछ’ उनले भने ‘प्रदर्शनीमा विद्यार्थीहरूले आफूलाई मनपरेका किताब खरिद गर्न सक्नेछन् ।’
किताबघरका सञ्चालक अनित्यले गत विहीबार सिद्धार्थ शिशु सदनमा कक्षा ७, ८ र ९ का विद्यार्थीलाई पठन संस्कृतिको विषयमा अभिमुखीकरण समेत गराएकाे बताए । यसैगरी मंसिर २२ गते हेटौँडा–५ स्थित ज्ञानोदय बालबाटिका एकेडेमी र मंसिर २४ गते हेटौँडा–४ स्थित ब्रह्मदिक एकेडेमीमा पुस्तक प्रदर्शनीको आयोजना गरिने उनले बताए । उनले विद्यालयसँग पनि समन्वय भइरहेको र यात्रा निरन्तर जारी रहने जानकारी दिए ।
किताबघर गत असाेज ९ गते मंगलबार पुस्तक प्रदर्शनी यात्रा २०८० सुरु गरेकाे थियाे । दशैं विदाकाे समयलाई लक्षित गरेर सुरु गरिएकाे पुस्तक प्रदर्शनीलाई निरन्तर दिने अनित्यले बताए । असोज ९ गते हेटौंडा–८, कमानेस्थित कमाने एकेडेमीबाट सुरु गरिएको ‘किताबघर पुस्तक प्रदर्शनी यात्रा २०८०’ असोज महिनाभर चलेकाे थियाे । गत असोजमा उपमहानगरपालिकामा सञ्चालित सामुदायीक र संस्थागत गरी ८ वटा विद्यालय समेटिएर सुरु गरिएकाे यात्रा कमानेकाे माउन्ट एभरेष्ट बोर्डिङ, मकवानपुर बाल विद्या सदन हेटौडा १८ हर्नामाडी, जनप्रिय मावि हेटौडा १६, रेड रोज इङलिस स्कुल, प्रगति मावि लामसुरे, बालजागृति इङलिस स्कुल हेटौडा २ र ज्ञानदीप शिक्षा (जीएस) निकेतन हेटौडा ४ मा संचालन गरेकाे थियाे ।

