मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा ५ का अध्यक्ष सुशील घिमिरेले सानोतिनो खर्चकोलागि धितो खोज्नुपर्ने बाध्यताबाट माथि उठ्न टोल विकास संस्था महत्त्वपूर्ण भएको बताएका छन् ।
टोल विकास संस्थाले टोलको हर क्रियाकलापमा सहभागी हुँदै विकास र रचनात्मक कार्यमा अग्रभागमा खटिने गरेकोमा उनले खुसी व्यक्त गरे । हेटौंडा ५ सिंचाइ टोल स्थिति मनकामना पार्क टोल विकास संस्थाको २२ औं बार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
सिचाई हुँदै मकवानपुरगढी स्थित मनकामना मन्दिर जाने बाटोका मन्दिरहरूलाई आकर्षक बनाएर विकासलाई अघि बढाउने, खुला ब्यायमशाला तथा खानेपानीको व्यवस्थापन गर्नमा ध्यान केन्द्रिय रहने उनले बताए ।
संस्थाको अध्यक्ष जानुका संजेलको अध्यक्षतामा भएको बार्षिक साधारण सभा प्रभा-अनुज शैक्षिक अक्षय कोषका संरक्षक कृष्णप्रसाद धितालले शैक्षिक प्रगतिमा पनि टोल विकास संस्थासंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पस प्रमुख डाक्टर शंकरप्रसाद उपाध्यायले टोल विकास संस्थाले टोलमा आयमुलक कामको सृजना नगरेको प्रति आपत्ति प्रकट गरे । उनले टोलको सरसफाइमा चासो दिनुपर्ने बताए ।
यसैगरी टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिबहरी दाहालले टोलमा रहेका ज्येष्ठ नागरिक, बालबालिका, युवाको लागि बिशेष कार्यक्रम गर्नुपर्ने बताए । हेटौंडा उपमहानगरपालिका वडा ५ को वडा टोल विकास समन्वय समिति संयोजक टीकाबहादुर खड्काले विकाससंगै रचनात्मक कार्य गरेर अघि बढ्नुपर्ने बताए । वडाको विकास निर्माणका काममा समन्वय र सहकार्य गरेर उत्कृष्ट टोल बन्नुपर्ने खड्काले बताए ।
वडा सदस्य रामबहादुर राई थोरै थोरै भने पनि बचत र खर्च कटौती गर्नुपर्ने, उद्यमशीलतामा जोड्नुपर्ने, टोललाई पर्यटकीय क्षेत्रको रूपमा अघि बढाउन लागिपर्नु पर्ने सुझाव दिए ।

टोल विकास संस्थाले आफ्नो संस्थाको सदस्य परिवारबाट यसबर्ष एसईई नतिजामा उत्कृष्ट भएका साईरा उपाध्याय, निश्चल दाहाल, सिद्धान्त सुवेदी र शिशिर खराललाई पुरस्कार सहित सम्मान गरिएको संस्थाको सचीव भीमा गुरागाईले बताइन् ।
साधारणसभामा संस्थाका अध्यक्ष संजेलले संस्थागत प्रतिवेदन तथा कोषाध्यक्ष विश्वप्रसाद गौतमले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा हाल ५८ लाख कारोवार रहेको प्रतिवेदनमा उल्लेख छ । संस्थामा २ सय २१ जना बचतकर्ता रहेको अध्यक्ष संजेलले बताइन् ।
कार्यक्रम मनकामना खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद देवकोटा, शुभकामना बाल क्लबको सचिब स्वरुपा गुरागाईलगायतको उपस्थिति रहेको थियो ।

