मकवानपुर । मकवानपुरगढी जेसीज प्रस्तावितले बुधबारबाट जेसीज सप्ताह कार्यक्रम सञ्चालन गरेकाे छ । जेसीजले आजबाट ४ दिनसम्म ७ वटा कार्यक्रम गरी जेसीज सप्ताह मनाउँदैछ ।
जेसीज सप्ताहको सुरुवात बुधबार बिहान मकवानपुरगढीको जीतपुर भञ्ज्याङमा स्वागत बोर्ड स्थापना गरिएकाे छ । यसैगरी बुधबार दिउँसो ज्वालादेवी आधारभूत विद्यालयमा खेलकुद सामग्री वितरण गरिने कार्यक्रम रहेकाे मूल कार्यक्रम संयोजक कार्यकारिणी उपाध्यक्ष विजय पुडासैनी जानकारी दिए ।
यस्तै विहीबार बिहान जाल्पादेवी मावि गढी ६ मा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम, हेमकर्ण मावि गढी २ मा शैक्षिक सामग्री वितरण तथा जनता मावि गढी ६ मा लागूऔषध दुर्व्यसनसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिने पुडासैनीले बताए ।
जेसीज सप्ताह अन्तरगत शुक्रबार रानीशेरा मावि गढी १ मा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम गरिने भएको छ । अन्तिम दिन शनिबार मकवानपुरगढी क्षेत्रमा वनभोज कार्यक्रमसहित जेसीज सप्ताहको समापन हुने जेसीज अध्यक्ष पुष्पराज पुडासैनीले बताए । आगामी दिनमा पनि युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यलाई निरन्तरता दिने उनले बताए ।

