मकवानपुर । मकवानपुरमा विगत ३ वर्षदेखि कार्यरत शान्ति फाउण्डेसनले मानव बेचबिखन प्रभावितहरुको सीप विकास तथा रोजगारीका लागि निजीक्षेत्रसँग साझेदारी अघि बढाएको छ ।
यस अन्तरगत लक्ष्यित वर्गका १० जनालाई रोजगारीको व्यवस्था गरेको हो । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को सहयोगमा विनरक इण्टरनेशनलद्वारा सञ्चालित हाम्रो सम्मान परियोजना मार्फत उनीहरुलाई रोजगारी सुनिश्चित गरिएको हो ।
मानव वेचविखनविरुद्ध निवारण संरक्षण अभियोजन तथा साझेदारी पद्धतिमा विभिन्न साझेदारहरु जस्तै नेपाल सरकार, नागरिक समाज तथा निजी क्षेत्रसँगको समन्वयमा सन् २०१७ देखि कार्यान्वयन भइरहेको छ । परियोजनाले मानव बेचविखन विरुद्धको लडाइमा नेपालको संघीय, प्रादेशिक तथा स्थानीय सरकारका प्रयासहरुलाई मजबुत बनाउने, मानव बेचबिखनको समस्या सामाधानका लागि नागरिक संस्थाहरुसँग संलग्न हुने र उनीहरुको पैरवीमा सुधार ल्याउने, मानव वेचविखनमा परेका तथा मानव बेचबिखनको जोखिममा रहेका व्यक्तिहरुका लागि सेवा वृद्धि गर्न निजी क्षेत्रसँग साझेदारी बढाउने काम गर्दै आएको फाउण्सनकाे मकवानपुर जिल्ला अधिकृत सिता गुरुङले बताइन् ।
तालिम तथा रोजगारीका लागि मानव बेचबिखनमा परेको तथा कम्पनीको कार्य प्रकृति अनुसारको आधारभुत क्षमता भएको व्यक्तिको रुपमा मकवानपुरबाट आवेदन दिएका १८ मध्ये १० जना अन्तिम छनौट भएका हुन् ।
जसमा प्रमुख आधार मानव बेचविखनबाट प्रभावितहरु, यौन हिंसाबाट प्रभावितहरु, वैदेशीक रोजगारीबाट फर्केहरु रहेका छन् । उनीहरुलाई ३ महिना कार्यस्थलमा तालिम दिइने छ । तालिम सुरुवातदेखि नै उनीहरुले नेपाल सरकारले तोकेको न्यूनतम मासिक तलब पाउनेछन् । तालिम समापनपश्चात् स्वतः स्थायी रोजगारी प्राप्त गर्नेछन् ।
स्थायी रोजगारी प्राप्तिसँगै नेपालको श्रम ऐनको व्यवस्थाअनुसार सम्पूर्ण सुविधा प्राप्त हुनेछ । यहाँ कार्य गर्दा न्युनतम दैनिक आठ घण्टा कार्य गर्नु पर्ने छ । अधिक समय कार्यको अतिरिक्त तलब पाइने व्यवस्था छ । औषधि उपचार तथा दुर्घटना बीमा लगाएत श्रम ऐनमा उल्लेखीत सुविधा उपलब्ध हुने जिल्ला अधिकृत गुरुङले बताइन् । उनीहरुलाई जगदम्बा स्पिनिङ्ग मिल्स, मोतिपुर, रुपन्देहीमा तालिम तथा रोजगारी दिइने उनले बताइन् । उम्मेदवारहरुसँग आज कम्पनीका प्रेजेक्ट काेअर्डिनेर सत्यन जय गिरी र फाउण्डेसनकी गुरुङले अन्तवार्ता लिएका थिए ।
परियोजनाले सन् २०२३ जून महिनादेखि नेपाल धागो उत्पादक सङ्घमार्फत २५० जना मानव बेचबिखनमा परेका व्यक्तिका लागि सीपमूलक तालिम (कार्यस्थलमा) तथा रोजगारी प्रदान गर्नाका लागि सहकार्य गरेको थियो । जसको लागि देशका विभिन्न ठाउँमा रहेका ५ वटा सदस्य धागो उत्पादक कम्पनीहरुसंग काम गरेको छ ।
सहभागीहरुलाई फाउण्डेसनकी सहजकर्ता देबकी ढुङ्गानाले १६ दिने लैङ्गिक हिंसा विरुद्धकाे अभियानकाे सन्दर्भ पारेर यसबारे समेत जानकारी गराएकी थिइन् ।

