मकवानपुर । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कायम भएका मतदाताहरूको नयाँ मतभार कायम गरेको छ । आयोगको बुधबार बसेको बैठकले प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडैलले जानकारी दिए ।
बैठकले एक जना प्रदेश सभा सदस्य बराबर ५३ मतभार र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभार कायम गरेको पाैडेलले बताए । यसअघि एक जना प्रदेश सभा सदस्यको मत ४८ र स्थानीय तहका मतदाता जनप्रतिनिधिकाे मतभार १८ कायम थियो ।
निर्वाचन आयाेगका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि २०८० फागुन २० गते समाप्त हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेकाे छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डलमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्याक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख रहने व्यवस्था गरेकाेले साेही अनुसार मतभारको व्यवस्था रहेको छ । मतभार कायम गर्दा पछिल्लो राष्ट्रिय जनगणना अनुसारको कूल जनसङ्ख्यालाई आधार मानी कायम गर्नुपर्ने भएकाेले नयाँ मतभार कायम गरिएकाे आयाेगले जनाएकाे छ ।
हाल राष्ट्रिय जनगणना २०७८ प्रतिवेदन सार्वजनिक भैसकेकोले सो प्रयोजनका लागि उक्त ऐन बमोजिम राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिस समेतका आधारमा प्रदेश सभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मतभार कायम हुने गरी आयोगबाट मिति २०८० मंसिर ०६ गते निर्णय भएको प्रवक्ता पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।


