काठमाडौं । भदौ ४ गतेदेखि विक्री खुला भएको रिलायन्स लाइफ इन्स्योरेन्स र समाज लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज सोमवार अन्तिम दिन रहेको छ । समाज लघुवित्तले ८० हजार ७०० कित्ता र रिलायन्स लाइफले ५६ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेका हुन् ।
प्राथमिक बजार पूर्ण प्रविधिमैत्री बनिसकेको अवस्थामा कोरोनाको कारण जारी निशेधाज्ञाका बीच पनि दुवै कम्पनीहरुले आईपीओ विक्री खुला गरेका हुन् । रिलायन्स लाइफको विक्री प्रबन्धकमा सानिमा क्यापिटल र समाज लघुवित्तको सिद्धार्थ क्यापिटल रहेको छ ।
समाज लघुवित्तले प्रतिशेयर रू. १०० अंकित दरको ८६ हजार कित्ता शेयरमध्य १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ८० हजार ७०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो ।
त्यस्तै रिलायन्स लाइफले प्रतिशेयर रू. १०० अंकित दरको कुल ६३ लाख कित्ता शेयरमध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट पश्चात ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि विक्री खुला गरेको हो ।
रिलायन्सको आईपीओ खरीदका लागि छिटोमा भदौ ८ गते र ढिलोमा भदौ २२ गते र समाजको छिटोमा भदौ ८ र ढिलोमा भदौ १८ गतेसम्मको समय तोकिएको छ । छिटो अवधिभित्रै माग भन्दा बढी आवेदन परिसकेकाले विक्री बन्द गर्न लागिएको हो ।
समाज लघुवित्तले बिहिबारदेखि बिक्रीमा ल्याएको आइपीओमा आइतबार साँझ सम्ममा १२७ गुणा भन्दा धेरै आवेदन परेको छ। लघुवित्तको आइपीओमा १२७.७३ गुणा बढी आवेदन परेको हो। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले दिएको जानकारी अनुसार आइतबार पाँच बजेसम्ममा ४ लाख ८५ हजार ४८३ वटा आवेदनबाट १ करोड ३ लाख ८ हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ ।
रिलायन्स लाइफ इन्स्योरेन्सले बिक्रीमा ल्याएको आइपीओमा आइतबारसम्म ३ गुणा भन्दा धेरै शेयर खरिदको लागि आवेदन परेको छ। विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार आइतबार साँझ सम्ममा ३.६० गुणा धेरै शेयर खरिदको लागि आवेदन परेको छ। ५ लाख ३ हजार ८०२ जना आवेदकबाट २ अर्ब ४ करोड १४ लाख १९ हजार रुपैयाँ बराबरको २ करोड ४ लाख १४ हजार १९० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो।
रिलायन्सको आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्म माग गर्न सकिनेछ भने समाज लघुवित्तको शेयर खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
प्राथमिक बजारमा सार्वजनिक निष्कासनका क्रममा आस्बा सेवा अनिवार्य गरिएकाले आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तिय संस्था र मेरो शेयर खाता मार्फत घरमै बसेर आवेदन दिन सकिनेछ ।
नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित रिलायन्स लाइफले आईपीओ विक्री गर्न साउन १६ गते र समाज लघुवित्तले साउन २१ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो ।
समाज लघुवित्तको जारी पूँजी रू. २ करोड रहेको छ । हाल संस्थापकहरुबाट चुक्ता भएको पूँजी रू. १ करोड १४ लाख रहेको छ । सर्वसाधारणका लागि यो आईपीओ जारी पश्चात समाज लघुवित्तको जारी पूँजी अनुसारको रकम कायम हुनेछ ।
त्यस्तै हाल रू. १ अर्ब ४७ करोड चुक्तापूँजी रहेको रिलायन्स लाइफले बीमा समितिले तोके बमोजिम रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ जारी गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड पुग्नेछ ।
