चितवन । कविडाँडा आख्यान पुरस्कार मनु उपन्यासलाई प्रदान गरिने भएकाे छ । कविडाँडा साहित्य समाज चितवनले शुक्रबार पत्रकार भेटघाट गरी कविडाँडा आख्यान पुरस्कार – २०७९’ समालोचक तथा उपन्यासकार देवीप्रसाद सुवेदीको मनु उपन्यासलाई दिइने जानकारी दिएकाे हाे । पुरस्कारको राशि १ लाख २५ हजार रुपैयाँ रहेको छ ।
समाजले उक्त पुरस्कारका लागि गत भदौ २३ गते १० वटा उत्कृष्ट आख्यान कृतिको सूची सार्वजनिक गरेको थियो । त्यसपछि दोस्रो चरणमा उत्कृष्ट ५ वटा कृतिको सूची सार्वजनिक गरेको थियो । सूचीमा सुवेदीको मनु उपन्याससहित जानुका खतिवडाको आतोओडा, विवेक ओझाको ऐँठन, रामलाल जोशीको बाआमा, अशोक थापाको सन्तापको धून, गोपी सापकोटाको चिसो बाफ, मनोज चौधरीको टुवरा, सञ्जय विष्टको माटाको घर, हरिबोल काफ्लेको यशोधरा र रेणुका जिसीको सनेस रहेका थिए ।
बुकहिल पब्लिकेसन्सबाट प्रकाशित सुवेदीको मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानव जातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ । नेपाली साहित्यमा मदनमणि दीक्षितको उपन्यास `माधवी´ लेखनको ४ दशकपछि ऋग्वैदिक सामाजिक उपन्यास ‘मनु’ प्रकाशन भएको हो ।
पुरस्कृत आख्यानलाई आगामी मंसिरमा चितवनमा सम्मान गरिने अध्यक्ष एलबी क्षेत्रीले बताए । २०७५ सालबाट दिन थालिएको यो पुरस्कार पहिलोपटक महेश थापाको `मरिचिका´ कथासङ्ग्रहलाई दिइएको थियो । त्यसपछि २०७६ सालमा श्याम शाहको `पथेर´ कथासङ्ग्रह, २०७७ सालमा भुवन ढुंगानाको `परित्यक्ता´ उपन्यास र २०७८ सालमा लोकराज भट्टको `छाइल´ उपन्यासले प्राप्त गरेका थिए ।
मनु उपन्यासले खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री पुरस्कार- २०७९ पनि प्राप्त गरेको छ ।

