मकवानपुर । आजबाट नेपालीहरुकाे महान पर्व दशै सुरु भएकाे छ । दशैंलाई बडादशैं पनि भनिन्छ । दशहरा, विजया दशमी, नवरात्र आयुध-पूजा समेतकाे नामले चिनिने दशैं नेपालीहरूको प्रमुख चाड हो । राष्ट्रिय चाड समेत मनिने दशैं हिन्दु धर्मवलम्बीले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म (नवरात्रभर) शक्तिको आराधना गर्ने गर्छन् । दशौँ दिन विहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा पुर्णिमासम्म (प्रसाद ग्रहणका लागि) मनाउने गर्छन्।
विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने भएकाेले दशैलाई बडादशैँ पर्व भनिने गरिएकाे हाे । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ ।
आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् बताउँछन् । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।
घटस्थापना
देवी भागवत महापुराणमा अनुसार मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रले नवरात्रको व्रत विधिपूर्वक सम्पन्न गरी दशमीका दिन विजय यात्रा गरेर रावण माथि विजय प्राप्त गरेको वर्णन आउँछ । आश्विन शुक्लपक्षको नौ अहोरात्रलाई नवरात्रव्रत भनी प्रतिपादन गरिएको छ । यस व्रतको दिनहरूमा निश्चित तिथिमूलक देवी-देवताहरूको अनुष्ठान समेत हुने भएकाले नवरात्रका दिनहरूलाई छोट्याउन वा बढाउन न मिल्ने हुन्छ । प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । क्रमशः दशमीका दिन प्रातः काल मात्र यस व्रत समापन हुन्छ । यसै दिन जमरा राखिन्छ ।
घटस्थापनाकाे दिन घट कलशको स्थापना गरी देवी-देवतालाई आवाहन गरिन्छ । यस दिन झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोला, बगर वा आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा अथवा पञ्चमाटो ल्याई दसैँ घर वा पूजाकोठामा राखी जमरा उमार्न जौ अथवा गाउँ घरमा चलिआएको अन्न छरिन्छ । जौ अथवा अन्नलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो । पूजाकोठाको नजिकै माटोको विशुद्ध जलपूर्ण घडा (कलश)को वरिपरि नौ वटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ पनि गाडिन्छ । अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा-आजा गरिन्छ।
ब्रह्मवैवर्त पुराण अनुसार दिशा अनुसार प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश मानिन्छ। पहिलो दिन शैलपुत्रीदेवीकाे पुजा आराधाना गरी क्रमशः ब्रह्चारिणी, चन्द्रघन्टा, कुस्मान्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी तथा सिद्धिदात्री यी नौ रूपको पूजा गरिन्छ । षष्ठी तिथिमा बेलको हाँगामा तेल, हर्दी लेपन गरी देवीबोधन गरिन्छ । सप्तमीका दिन दसैं घरमा नवपत्रिका प्रवेश गराई भद्रकाली, सरस्वतीको पूजा गरिन्छ । अष्टमीमा कालरात्रीको विधिवत् पूजा गरी भगवतीको वाहन बाघको पनि पूजा गरिन्छ ।
यसै गरी महानवमीमा नवदुर्गा स्वरूप नौ जना कन्याको र दशमीका दिन विहान अपराजिता देवीको पूजा गरिन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवी-देवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित रहेका छन् । उक्त कुरा कालीका पुराण ग्रन्थमा उल्लेख भएको पाइन्छ। यसका अतिरिक्त घटकलश अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ। घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवी देवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो। गहुँ तथा जौको नवअंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । नौ रात्रिसम्म पूजा गरेर दशौँ दिन विहान टीका-प्रसाद ग्रहण गरे पछि बचेका अंकुरित जमराको रस बनाएर खानाले असाध्य रोगहरू पनि निको हुने कुरा औषधिविज्ञ बताउँछन् । जौका जमरालाई महौषधि भनिएको छ ।
निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता प्राप्त हुन्छ । विभिन्न रोग व्याधि र कष्टहरू मेटिएर जान्छन् । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरूका घरघरमा र देवीका मन्दिरहरूमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा,आराधना र प्रार्थना गरिन्छ । शङ्ख, डमरू, घण्टी आदि बजाइ दुर्गासप्तशती -चण्डी, स्त्रोत्र रत्नावली, कालीका स्तोत्र, दुर्गा कवच, श्रीमद्देवीभागवत् आदि पाठ पनि पढिन्छ। पूजा गरिसकिएपछि प्रत्येक दिन बलि चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ। पूजक अनुसार वलि दुई प्रकारको हुन्छ | श्रौतयज्ञानुसारको पशु वलि र साकाहारीहरूले प्रदान गर्ने नरिवल ऊखु कुभिण्डो आदि स्मार्तवलि |वलि प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ।
आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । असोज २८ गतेका दिन बिहान ११ बजेर २९ मिनेटमा घटस्थापनाको शुभ साईत रहेको थियाे । यो शुभ मुहूर्तमा स्थापना गरिएको कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरी नवरात्र भरी माता दुर्गाजीको भिन्न (भिन्न स्वरूपको पूजा अर्चना गर्ने गरिन्छ, घटस्थापनाको दिन शुभ साईत बिहानै भएपनि श्रद्धा एवं भक्तिले दिन भरिनै आफ्नो कुलाचार र परम्परा अनुसार घटस्थापना गरी जमरा राख्न सकिने भएकाेले त्यही अनुसार घटस्थापना गरी जमरा रखिएकाे छ ।
टिकाकाे शुभ साइत बिहान ११ बजेर २ मिनेटमा
नेपालीहरूको महान चाड बडादशैंकाे टिकाकाे उत्तम साइत आगामी कार्तिक ७ गते मंगलबारका बिहान ११ बजेर २ मिनेटमा रहेकाे छ । टिका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विर्सजन गरी माता दुर्गाभवानीको प्रसाद, टिका र जमरा ग्रहण गर्ने उत्तम साईत बिहान ११ बजेर २ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएकाे छ ।
यसपालिको टिकाको शुभ साहित लाभ योगमा रहेको छ । यस दिन पश्चिम फर्केर दुर्गा भवानीको प्रसाद आफ्नो मान्यजनका हातबाट टिका र जमरा ग्रहण गर्नाले शुख, शान्ति, ऐश्वर्य, यश, कृति, लाभ, विजय, आयु, सुस्वास्थ्य तथा मनोकामना पूर्ण हुने शास्त्रोक्त कथन रहेको छ । शास्त्रीय मान्यता अनुसार यो पनि भनिएको छ कि सामान्य मानिसलाई टीका र प्रसाद ग्रहण गर्न साइत चाहिँदैन अतस् विजया दशमीको दिन देश, काल र परिस्थिति अनुसार जतिबेला पनि टिका र जमरा ग्रहण गर्न सकिनेछ ।

