मकवानपुर । बागमती प्रदेशको शैक्षिक अवस्था सुधारको लागि सांसदहरुले ऐक्यबद्धता जनाएका छन् ।
प्रदेशको शैक्षिक अवस्था सुधारको लागि सरोकारवालाहरुले दिएको सुझावलाई संसदमा राख्ने र शैक्षिक सुधारको लागि नीति बनाउन आफूहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनीहरुले बताएका हुन् ।
प्रदेश सांसद समिता खड्की श्रेष्ठले नेपालको शैक्षिक अवस्था सुधारको लागि प्राविधिक र व्यवसायिक शिक्षा आवश्यक भएको बताइन् । शिक्षाको गुणस्तर सुधारको लागि शिक्षकहरुलाई आपसमै सम्मानित महसुस गर्दै कक्षा प्रवेश गर्ने बातावरण आवश्यक भएको सांसद रामकुमार पाहाडीले बताए ।
अर्का सांसद कुमारी तामाङले विद्यालय-विद्यालयले आपसमा नतिजामा प्रतिष्पर्धा गरेर गुणस्तर सुधारको पहल गर्नु पर्ने बताइन् । पछिल्लो समय सामुदायिक विद्यालयहरुको भौतिक अवस्था सुधार भएको तर गुणत्मक पाटो झनै खस्केको प्रति उनले आपत्ति जनाइन् ।
बागमती प्रदेशको वर्तमान शिक्षाको अवस्था सम्बन्धमा सरोकारवालासंग सार्वजनिक सुनुवाई कार्यक्रममा यस्तो बताएका हुन् । मकवानपुरको हेटौडामा संसद सहयोग परियोजनामा संयुक्त राष्ट्रसंघ विकाश कार्यक्रम अन्तरगत शान्तिका लागि साझा अभियान कोक्यापले सार्वजनिक सुनुवाई गरेको थियो ।
कार्यक्रममा डाक्टर विजय नेपालले विश्व विद्यालयहरु सबैभन्दा जोखिममा रहेको बताए । शिक्षामा राज्यले गर्नुपर्ने धेरै जिम्मेवारी सामुदायिक क्याम्पसहरुले पुरा गरेको तर राज्यले तिनै क्याम्पसहरुलाई क्याम्पसको रुपमा स्वीकार नगरेको प्रति नेपालले आपत्ति प्रकट गरे ।
यसैगरी डाक्टर एम सिलवालले युवा पुस्ताहरु विदेश किन जान्छन् भन्ने सवालमा अनुसन्धान बिना उनीहरुलाई रोक्ने योजना सफल हुन नसक्ने बताए । पढ्नको लागि भनेर विदेश गएकाहरु पढ्न नै नभएर लेवर काम गरिरहेको उनले बताए । “उनीहरु यहाँबाट पढ्ने भनेर जाने अनि विदेशमा पुगेर दैनिक १० घण्टासम्म काम गर्छन, पढ्न गएकै हैनन्, मुख्य उद्देश्य कमाउने नै हो काम गर्ने नै हो” सिलवालले भने ।

राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशकी रेवा रेग्मीले व्यवसायिक शिक्षाले कमाउँदै पढ्दै गर्ने बातावरण सिर्जना गर्ने भएकोले युवालाई विदेश जानबाट रोक्नको लागि एउटा उपाय व्यासायिक शिक्षा हुन सक्ने सुझाव दिइन् ।
यसैगरी श्रमिक माविका प्रध्यानाध्यापक श्रीराम दाहालले शिक्षकहरुको सेवा सुविधाको पाटोमा पुनर्विचार गर्नुपर्ने औलाउँदै अहिलेका निवार्चित जनप्रतिनिधिको रवैया ठिक नभएको शिक्षकहरु हतोत्सायि हुनु पर्ने अवस्था आएको बताए ।
कोक्याप बागमति प्रदेशको अध्यक्ष दिनेश परियारको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी नेता अभि मैनालीले विद्यालय स्तरमा हुने राजनीतिक कार्यक्रम पूर्ण रुपमा रोक्नु पर्ने बताए । नेपालको संविधानमा राम्रो व्यवस्था भएको तर कार्यान्वयको पाटो फितलो भएको कारण शिक्षामा सुधार हुन नसकेको मैनालीले बताए ।
कार्यक्रममा सांसदहरु मोनिका श्रेष्ठ, उर्मिला लामा, सुष्पा भुजेल, शिक्षाका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

